सुदूरपश्चिममा लगानी भित्र्याउन प्रदेश सरकारले लगानी सम्मेलन गर्दै

गोकुलेश्वर । सुदूरपश्चिम प्रदेश सरकारले लगानी सम्मेलन गर्ने भएको छ। प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिममा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको मुख्यमन्त्री कार्यालयको सचिवालय जनाएको छ। सम्मेलन आयोजना गर्न मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा आयोजक मूल समितिपनि गठन गरिएको छ। मूल समितिमा संघीय संसदका सांसदहरू, प्रदेशका मन्त्रीहरू, प्रदेश सभाका सभामुख उपसभामुख, प्रदेश सभा सदस्यहरू रहेका छन्।
सम्मेलन आयोजनाका लागि अन्य तीन वटा समिति पनि गठन गरिएका छन्। प्रतिनिधिसभा सदस्य आरजु राणा संयोजक रहेको सल्लाहकार समिति, प्रदेश मन्त्री प्रकाश देउवा संयोजक रहेको निर्देशक समिति र आर्थिक मामिला मन्त्री नरेशकुमार शाही संयोजक रहेको कार्यकारी समितिसमेत गठन गरिएको छ। आवश्यकता अनुसार थप समिति र उपसमितिहरूसमेत गठन गरिने भएको छ।