डिलाशैनीवासीको प्रश्न : तामझामका साथ शिलान्यास भएको अस्पताल अहिलेसम्म किन बनेन्?

गोकुलेश्वर । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिर २०७७ मा एकै पटक तीन सय ९६ पालिकामा आधारभूत पालिका अस्पताल शिलान्यास गरे। ती अस्पतालमध्येको एक थियो, बैतडीको डिलाशैनी गाउँपालिकाको १० शय्याको अस्पताल।
अहिले डिलाशैनीमा शिलान्यास गरिएको पालिका अस्पताल अलपत्र छ। दुई वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालन गर्ने गरी शिलान्यास गरिएको अस्पताल करिब ३ वर्ष हुनै लाग्दासम्म पनि अलपत्र छ।
गाउँपालिकाले अस्पताल निमार्णमा चाँसो नदेखाउँदा अलपत्र बनेको हो। २०७८ असार २५ मा अस्पताल निमार्णका लागि गाउँपालिका र मालिका एच.टि.सि.जेवी महेन्द्रनगर कञ्चनपुर निर्माण कम्पनीसँग सम्झौता भयो। १३ करोड ६७ लाख ९५ हजार भ्याटसहित २०८० असार मसान्तसम्म अस्पताल निमार्ण सम्पन्न गरिसक्ने गरि सम्झौता भएको थियो।
२०७८ कार्तिक ९ मा गाउँपालिकाले डिलाशैनी—७ खेतिगाउँमा अस्पताल निमार्ण गर्न जग्गा उपलब्ध गरायो। निर्माण कम्पनीले अस्पतालका लागि खेतिगाउँमा जग्गा सम्म्याउने, निमार्ण सामाग्री, भौतिक संरचनालगायत अन्य आवश्यक मेसिनहरू पुर्याइ निमार्ण कार्य अगाडि बढायो।
निर्माण कार्य हुँदै गर्दा २०७८ मंसिर २७ मा गाउँपालिकाले अस्पताल निमार्णमा विवाद भएको भनि स्वास्थ्य मन्त्रालयको पत्रानुसार तत्काल काम रोक्न ठेकेदारलाई पत्र पठायो। सोही पत्रानुसार निमार्ण कार्यपनि रोकियो।
सम्झौतानुसार २०८० असार ३० भित्र भवन निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने भएपनि पालिकाले निमार्णका चाँसो नदिदाँ अहिलेसम्म अस्पतालको अत्तोपत्तो छैन। पालिकाकै गौरवको आयोजनालाई अधुरो र अलपत्र रहेको भएपनि गाउँपालिका चुपचाप छ।
काम रोकिएको बेलादेखि निर्माण कम्पनीले कयौँ पटक निमार्ण कार्य अगाडि बढाउनका लागि जग्ना उपलब्ध गराउन पालिकालाई पत्र पठायो। तर, गाउँपालिकाले कुनैपनि पत्रको जवाफ दिएन। निर्माण कम्पनीले पालिकालाई मात्रै पत्र पठाएन, जिल्ला प्रशासन कार्यालय बैतडी, जिल्ला समन्वय समिति बैतडीलाई समेत अस्पताल निमार्णका लागि आवश्यक समन्वय गरिदिन पत्र पठायो। तर, ती पत्रहरुको पालिकाले वास्तै गरेन।
अन्य ठाउँमा ठेकेदार काम नगरेर भागेको भन्दै ठेकेदार खोज्न प्रशासनलाई आग्रह गरिन्छ। तर, डिलाशैनीमा ठिक उल्टो भयो। ठेकेदारले काम गर्न दिनभनि प्रशासनलगायतका अन्य सम्बन्धित निकाय जानु पर्ने बाध्य भएको ठेकेदार रधुबिरसिंह साउदले बताए। ‘काम गर्नको लागि पालिकाले साइड दिएन,’ उनले भने,‘साइड नै नदिइ पालिकाले तोकिएकै समयमा निर्माण कार्य सम्पन्न गरि १० शय्याको अस्पतालको भवन हस्तान्तरण गर्न भनि पत्र मात्रै पठायो। साइड नै नदिएपछि मैले कसरि तोकिएकै समयमा अस्पताल पालिकालाई हस्तान्तरण गर्थे। मलाई निमार्ण कार्य गर्नको लागि साइड नै दिएन।’
सो विषयमा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टसँग फोन गरेर बुझ्न खोज्दा उनले बोल्न चाहेनन्। ‘फोनबाट सबै कुरा भन्न मिल्दैन। जानकारी चाहिएको भए कार्यलयमै आएर लग्नुहोस्,’ उनले भने।
शिलान्यास भएको दुई वर्षभित्रमा नै अस्पताल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको थियो। डिलाशैनीमा आधारभूत तहको अस्पताल निर्माण हुन थालेको भन्दै स्थानीय पनि खुसी भए। तर, डिलाशैनीमा विशेषज्ञसहितको स्वास्थ्य उपचार सेवा पाउने स्थानीयको सपना भने पूरा हुन सकेको छैन। अस्पताल निर्माणको लागि शिलान्यास भएको २१ महिनाहुँदा पनि पालिकाले ठेकेदारलाई अझै जग्गा उपलब्ध नगराउँदा भवन निर्माण अलपत्र परेको हो।
डिलाशैनी—७ का किरन धामी स्वास्थ्य उपचारका लागि जिल्ला बाहिरी जानुपर्ने बाध्यता रहेको बताउँछन्। ‘हाम्रै डिलाशैनीमा विशेषज्ञ उपचार सेवा पाउने आशमा बसेको २ वर्ष हुन लाग्यो। तर, अहिलेसम्म पनि भवन निर्माण भएको छैन। गत वर्ष भवन निर्माणको थालनी भएको थियो पछि विवाद भयो भन्ने खबर आयो तर अहिलेसम्म गाउँपालिकाले निमार्णमा वास्ता गरेको छैन। कहिले बन्ला अस्पताल थाहा छैन।’ उनले भने ‘हामीले आर्थिक जोहो गरेर धनगढी, नेपालगञ्ज र भारत उपचार गर्न जानुपर्ने हाम्रो बाध्यता छ।’
डिलाशैनी—७ कै अर्का स्थानीय दिपक भट्टले कुनै ठूलो रोग लागिहाले काठमाडौं नै पुग्नुपर्ने बाध्यता रहेको बताउछन्।‘कुनै ठूलो रोग लागीहाले काठमाडौं नै पुग्नुपर्छ। बिरामीले समयमै उपचार नपाउँदाबीच बाटोमै ज्यान जान्छ,’ उनले भने, ‘गाउँमा अस्पालको काम अलपत्र परेर बसेको छ। यहीँ अस्पताल बनिदिए उपचार नपाएर अकालमै ज्यान जाने पर्ने बाध्यता हुने थिएन।’
तामझामको साथ शिलान्यास भएको भवन अलपत्र पर्दा उपचारका लागि धनगढी, नेपालगञ्ज, भारत वा नीजि मेडिकलमा जानुपर्ने बाध्यता रहेको डिलाशैनीका स्थानीय बताउँछन्। पालिकामै विशेषज्ञ उपचार पाउनबाट बञ्चित भएको उनीहरूको गुनासो छ।
भगौलिक हिसाबले डिलाशैनी गाउँपालिका विकट ठाउँ हो। सामान्य उपचारको लागि ३ देखि चार घण्टासम्म हिड्नु पर्छ भने जटिलता बिरामीलाई धनगढी, नेपालगञ्ज वा काठमाडौं पुग्न पर्ने बाध्यता यहाँका स्थानीयलाई छ।
अस्पताल जस्तो संवेदनशील संरचना अलपत्र पर्दा पनि गाउँपालिकाले ठेकेदारलाई जग्गा उपलब्ध नगराएको, निमार्णका लागि कुनै पहल नचालेको भन्दै जनप्रतिनिधिको आलोचना हुन थालेको छ। झन गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी पूर्व स्वास्थ्यकर्मी समेत हुन्।
पालिका अध्यक्ष पूर्व स्वास्थ्यकर्मी रहेको पालिकामै यसरी अत्यावश्यक सेवाका रुपमा रहेको १० शय्याको पालिका अस्पताल निमार्ण कार्य अलपत्र पर्दा आलोचनाले भइरहेको छ।