सुदूरमा आएको भूकम्पले लियो एक ज्यान, २७ घाइते

- अंकित कुवँर
धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर एक जनाको मृत्यु र २७ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो गएको भूकम्प तथा पराकम्पका कारण सुदूरका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानसम्म एक जनाको मृत्यु र २७ जना घाइते भएका छन्।
प्रहरीका अनुसार बझाङको जयपृथ्वी नगरपालिका-११ ओखलकी ४५ वर्षिया गुनदेवी धामीको मृत्यु भएको हो।
भूकम्पका कारण भौतिक क्षति प्रदेशका विभिन्न जिल्लामा भएको छ। प्रहरीका अनुसार भूकम्पका कारण ७५ घर पूर्णरुपमा र तीन सय एक घरमा आंशिक क्षति पुगेको छ।
प्रदेश प्रहरीका अनुसार एक सरकारी कार्यालयमा पुर्ण र ३२ वटामा आंशिक क्षति भएको हो। प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले सुदूरका पहाडी जिल्लाहरु बझाङ, बैतडी, डोटी र अछामलगायतका जिल्लामा क्षति पुगेको हो।
महानिरीक्षक बोहराका अनुसार बझाङमा मात्रै १८ जना घाईते भएका छन् भने १ जनाको अवस्था अज्ञात छ। त्यहाँ ३४ घरमा पूर्ण क्षति भएको छभने दुई सय ७५ घर तथा भवनमा आंशिक क्षति भएको छ। महानिरीक्षक बोहराले भने, ‘हामीले सुरक्षा ब्यवस्था र राहत तथा उद्धारलाई पनि चुस्त बनाएको छौँ। अहिले यहाँका जनतामा डरत्रास निकै बढेको छ।’
यस्तै, बैतडीमा पनि भूकम्पका कारण २ जना घाईते भएका छन्।
सुदूरमा साना परकम्पहरू लगातार गइरहँदा बझाङका स्थानीयले घरबाहिर निस्किएर खुला चौरमा रात बिताएका छन्।
राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङको जयपृथ्वी नगरपालिका केन्द्रबिन्दु बनाएर दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो। त्यसको २६ मिनेटपछि सोही क्षेत्र केन्द्रबिन्दु बनाएर ६.३ रेक्टरको भूकम्प गएको थियो।
भूकम्पको धक्का सुदूरका सबै जिल्ला र कर्णाली प्रदेशमा समेत महसुस गरिएको थियो।