शैल्यशिखरमा बुवा मेयर, छोरा हाकिम : मिलाउन सक्लान् त आन्तरिक गुटबन्दी ?

शैल्यशिखरमा बुवा मेयर, छोरा हाकिम : मिलाउन सक्लान् त आन्तरिक गुटबन्दी ?

गोकुलेश्वर । शैल्यशिखर नगरपालिकाका तत्कालिन हाकिम सुरेन्द्रबहादुर बिष्ट निलम्बनमा परेको लामो समयपछि नगरपालिकाले नयाँ हाकिम पाएको छ।

लामो समयसम्म हाकिम नपाएको मारमा परेको शैल्यशिखरले विभिन्न रस्साकस्सी पछि शैल्यशिखरकै छिमेकि नौगाड गाउँपालिकामा हाकिम रहेको पुष्करसिंह धामीलाई नौगाडसहित शैल्यशिखर दुईटै पालिका हेर्ने गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गते एक पत्र काट्दै जिम्मेवारी दियो।

असोज २ गते मन्त्रालयले जिम्मेवारी दिएपनि नयाँ हाकिम धामीभने १४ गते पालिकाको कार्यभार सम्हाले। नयाँ हाकिम धामीको संयोगवस आफ्नै बुवा एमालेबाट निर्वाचित भएका मेयर विजयसिंह धामीको नगरपालिकाको प्रशासन हाक्ने कार्यभार सम्हाल्नु परेको छ।

उसो त नयाँ हाकिम धामी अधिकृतमा नाम निकाल्नु अगाडि नायब सुब्बामा कार्यरत रहेर शैल्यशिखरमा लामो समय काम गरेको अनुभवपनि छ। गाउँ र भूगोल बुझेका नयाँ हाकिम धामी आउँदा प्रशासनिक कामले फड्को मार्न सक्ने केही स्थानीयले विश्वास गरेका छन्।

एमालेको बहुमत रहेको शैल्यशिखर नगरकार्यपालिका केही समयदेखि आन्तरिक विवादमा रहेको छ। मेयर, उपमेयर, र एमालेकै अन्य नेताहरूको फरकफरक गुटबन्दीका कारण विवादमा रहेको नगरपालिकाले यस आर्थिक वर्षको बजेटपनि समयमै ल्याउन नसक्दा विवाद छताछुल्ल देखिएको थियो।

एमाले शैल्यशिखर निकट स्रोतका अनुसार कार्यपालिका आन्तरिकरूपमा गुटबन्दीमा फस्दा पालिकामा सोचेअनुसारको विकास निर्माणका कार्यहरू हुन नसकेको दाबी छ।

तर, आफ्नै बुवा मेयर रहेको पालिकामा छोरा हाकिम भएर आउँदा आन्तरिक गुटबन्दी तोडेर पालिकाले विकास निर्माणको कार्यले तिव्रता पाउने वा झन् गुटबन्दी बढ्न सक्ने त्यो भने हेर्न बाँकी रहेको स्थानीय बताउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।