शैल्यशिखरको बारेमा समाचार लेखेको भन्दै पत्रकार खत्रीमाथि सामूहिक कुटपिट

दार्चुलाका पत्रकार अमर खत्रीमाथि कुटपिट भएको छ। शैल्यशिखर नगरपालिकाका कर्मचारीले पत्रकार खत्रीमाथि शुक्रबार दिउसो पौने १२ बजेतिर आक्रमण गरेका हुन्।
शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनिने नगरपालिकामा कार्यरत कर्मचारी इन्द्रसिंह धामीको समूहले खत्रीलाई कुटपिट गरेको हो।
‘नगरपालिकाको बारेमा किन समाचार लेख्छस्? किन आइस्? भन्दै नगरपालिका परिसरमा ममाथि आक्रमण भयो, पछि समातेर सभाहलमा थुनेर कुटपिट गरे,’ खत्रीले भने, ‘मोबाइल खोसेर रेकर्ड गरिएको भिडिओ पनि डिलिट गरेका छन्।’
मेयर धामीका स्वकीय सचिव इन्द्रसिंह धामीले नगरपालिकाको विषयमा समाचार लेखेमा मिडियामा आगो लगाउने र सिध्याउनेसमेत धम्की दिएको उनले बताए।
कुटपिटमा मेयर धामीका स्वकीय सचिव धामीसहित अन्य कर्मचारीको संलग्नता रहेको पत्रकार खत्रीले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ।
खत्रीको कान र हातमा चोट लागेको छ। पत्रकार खत्रीले आफूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन्। खत्री गोकुलेश्वरबाट प्रशारण हुने रेडियो चौलानी टुडे र सेतीकाली अनलाइनमा कार्यरत छन्।
उनी नगरपालिकाको व्यथितिविरुद्ध समाचार लेख्दै आएका थिए। केहीदिन अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले नगरपालिकालाई पत्र पठाउँदै एक करोड रुपैयाँ हिनामिनाबारे उनले समाचार प्रकाशन गरेका थिए।
थप अनुसन्धानका लागि कागजपत्र माग गरेको थियो। पत्रकार खत्रीले उक्त समाचार आफू कार्यरत सञ्चारमाध्यममा प्रकाशन र प्रशारण गरेका थिए। उक्त समाचारका विषयमा सोध्दै नगरपालिकाका कर्मचारीले आफूमाथि आक्रमण गरेको पत्रकार खत्रीले बताए।
समाजवादी प्रेस संगठन दार्चुलाका अध्यक्ष र राजधानी दैनिक पत्रिकाका दार्चुला संवाददाता रहेका खत्रीलाई कुटिएको भन्दै पत्रकार महासंघ दार्चुला र समाजवादी प्रेस संगठनले घटनामा संलग्नलाई कारबाही हुनुपर्ने माग गरेको छन्।
*पत्रकार खत्रीको अनुरोधमा समाचार केही संशोधन गरिएको छ। -सम्पादक