दार्चुलामा बाख्रा पाल्दै किसान

गोकुलेश्वर । महाकाली नगरपालिका–१ श्रीबगरका सन्तोषबहादुर बम व्यावसायिक बाख्रापालनतर्फ लागेका छन्। उनी दुई वर्षदेखि बाख्रापालन गरेर आम्दानी बढाउन थालेका हुन्।
अन्य कामभन्दा बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि भारतको मजदुरी छोडेर व्यवसाय सुरु गरेको बमले बताए। उनले दुई वर्षदेखि व्यवसाय सुरु गरेकामो यो वर्षबाट बिक्री गर्न थालेका छन्। गत वर्ष ३/४ खसीबोका बिक्री गरेका उनले यो वर्ष ७ वटा खसी बेचेका थिए। त्यसबाट करिब एक लाख आम्दानी गरेका थिए।
‘खसीबोकाको दसैंतिहार र मन्दिरमा पूजापाठ चल्ने बढी राम्रो मूल्य पाइन्छ। अन्य समयभन्दा चाडपर्वमा राम्रो कमाइ हुन्छ,’ उनले भने, ‘यो वर्ष दसैंतिहारसम्म १५ वटा जति बिक्री हुने गरी पाठापाठी तयार हुँदै छन्।’ बाख्रापालनमा समस्या नआए यो वर्ष दुई लाख आम्दानी हुने सम्भावना रहेको उनले जानकारी दिए।
गत वर्षबाट व्यास गाउँपालिका–३ का जमनसिह कुँवर पनि व्यावसायिक बाख्रापालनमा अग्रसर भएका छन्। डेढ लाख लगानी गरेर व्यवसाय सुरु गरेको उनले बताए। चरन क्षेत्र घट्दै गए पनि बाख्रापालन पेसाबाट आम्दानी राम्रो हुन थालेपछि व्यावसायिक रूपमा यो पेसालाई अगाडि बढाउने उनको सोचाइ छ। ‘यो व्यवसायबाट आम्दानी राम्रो हुने भएपछि बाख्रापालनतर्फ अग्रसर भएका छु,’ उनले भने, ‘यसअघि पनि घरमा थोरै बाख्रा पालिन्थे। पछिल्लो समय व्यावसायिक रूपमा यो पेसा अँगालिरहेको छु।’
त्यस्तै, नौगाड गाउँपालिका १ इयरकोटका रञ्जित ठगुन्नाले १० वर्षदेखि बाख्रापालन व्यवसाय गर्दै आएका छन्। अहिले आधुनिक खोर निर्माण गरी ५५ बाख्राको हाराहारीमा खोरमा बाख्रा राखी उनको व्यवसाय अगाडि बढेको छ। गाउँमै बाख्रा बिक्री गरी वार्षिक रूपमा डेढ लाख आम्दानी गरिरहेको उनले जानकारी दिए। ‘सुरुमा सानो व्यवसायबाट सुरु गरेको अहिले विस्तार गर्ने सोच बनाएर ५० बाख्रा अट्ने आधुनिक खोर निर्माण गर्दै छु’, उनले भने। बाख्रापालन व्यवसायबाट छोराछोरीलाई धनगढीमा उच्च शिक्षा पढाइरहेको उनले बताए।
व्यास गाउँपालिका– ५ प्रमानन्द भट्टले व्यावसायिक बाख्रापालन गर्न थालेको ६ वर्ष पुग्यो। परम्परागत रूपमा बाख्रापालन गर्दै आएपछि १५ बाख्राबाट व्यवसाय सुरुवात गरेका उनको खोरमा अहिले २७ बाख्रा छन्। बाख्रा पालनबाटै उनले वार्षिक डेढ लाख रुपैयाँ कमाउँछन्। बाख्रापालनले ७ जनाको परिवारको राम्रो गुजारा चलेको उनले बताए। व्यावसायिक बाख्रापालन सुरु गरेदेखि आफ्नो जीवनस्तरमा समेत परिवर्तन आएको भट्टको भनाइ छ। पछिल्लो समय स्थानीय व्यावसायिक बाख्रापालनतर्फ आकर्षित हुन थालेका छन्।
दिनहुँ हजारौंको संख्यामा युवा जमात बिदेसिइरहेका बेला बाख्रापालन गतिलो रोजगारीको माध्यम बनिरहेको भट्टले बताए। गाउँका युवाहरू दिनहुँ विदेश जाने तयारीका लागि काठमाडौं जाने गरेका छन्। ‘मासिक सयकडा ३ प्रतिशतका दरले कर्जा निकालेर विदेश जान्छन्। दुई/तीन वर्षभन्दा बढी ऋण तिर्नमै लाग्छ,’ उनले भने, ‘गाउँमै बाख्रापालनबाट राम्रो आम्दानी भइरहेको छ। यही परिश्रम गरे राम्रो कमाउन सकिन्छ।’
बाख्रापालनलगायत गाउँमै गर्न सकिने पशुपालनमा विदेश जान लाग्ने लगानी र विदेशकै जतिको मिहिनेत गरे आम्दानीसँगै पेसामा पनि व्यावसायिक भइने उनी बताउँछन्। आफ्ना बुबा र बाजेहरूले परम्परागत रूपमा बाख्रापालन गर्दै आएको भए पनि आफू भने व्यावसायिक रूपमा यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए।
जिल्लाका पहाडी तथा उच्च पहाडी क्षेत्रमा किसान बाख्रापालन व्यवसायबाट राम्रै आम्दानी गरिरहेको व्यास गाउँपालिका पशु शाखा प्रमुख कृष्णराज भट्टले बताए। गाउँपालिकाले भेडापालन व्यवसायलाई प्राथमिकता दिएको छ। सुरु–सुरुमा चरिचरन क्षेत्र पर्याप्त भए पनि अहिले सामुदायिक वनका कारण चरिचरनको समस्या हुने गरेको स्थानीय कृषकको भनाइ छ।
जिल्लाका सबै स्थानीय तहमा बाख्रापालन हुने गरेको भए पनि व्यास, दुहु, मालिकार्जुन, अपीहिमाल गाउँपालिकाहरूमा पशुपालन व्यवसाय फस्टाउँदै गएको छ।