ठेकेदार लालिरामको लिला : एमालेको नेता हुँ भन्दै समयमै बनाएन विद्यालयको भवन

ठेकेदार लालिरामको लिला : एमालेको नेता हुँ भन्दै समयमै बनाएन विद्यालयको भवन

गोकुलेश्वर । दार्चुलाको शैल्यशिखर नगरपालिका -९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माण कार्य अलपत्र परेको छ। ठेकेदारको लापरवाहीका कारण भवन निर्माणमा ढिलाई हुनुका साथै अलपत्र परेको छ।

नेपाल सरकारको संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्तर्गत गोकुलेश्वर माविको ९ कोठे भवन निमार्णका लागि २०७७/०७८ मा १ करोड ४५ लाख रकम आएको थियो।

भवन निमार्णका लागि टेन्डर आवह्वान २०७८ सालमा उषा निमार्ण सेवा प्रालि शैल्यशिखर नगरपालिका-१ बलाँच दार्चुलाका संचालक लालीराम विश्वकर्मा(अवसेक)ले १ करोड ४५ लाखको ९ कोठे भवन निमार्णको काम ७६ प्रतिशत बिलो हाली ७९ लाख ४२ हजारमा भवन निमार्ण गर्ने भनि ठेक्का लिएका थिए।

निमार्ण कम्पनी र विद्यालयबीच भएको सम्झौता अनुसार ठेकेदारले समयमै काम नगर्दा भवन निमार्ण कार्य अलपत्र परेको छ। नमुना विद्यालय कार्यक्रम अन्तर्गतको उक्त भवन निमार्णको समयमै काम सम्पन्नगरी शिक्षा मन्त्रालयमा कामको विवरण पेश गर्नुपर्ने हुन्छ। तर, ठेकेदारले काम समयमै सम्पन्न नगर्दा मन्त्रालयमा कामको प्रगति विवरण पेश भएको छैन।

प्रगति विवरण पेश नहुँदा मन्त्रालयबाट आउने थप बजेटसमेत रोकिने भएकाले नमुना विद्यालय कार्यक्रम नै धरापमा पर्न सक्ने विद्यालयका प्रधानाध्यापक धन्नजय जोशीले बताए। सम्झौता भएको उक्त भवन निर्माणको काम अहिलेसम्म गरिसक्नुपर्ने भनिएको भएता पनि ठेकेदारको चरम लापरवाहीले निमार्ण कार्यमा ढिलाई भएको अध्यक्ष जोशीले बताए।

उनले भने, ‘ठेकेदारलाई पटक-पटक भवन निमार्णमा ढिलाई नगर्न आग्रह गरेका हौं। करिब १ महिना अगाडि ठेकेदारलाई फोन गर्दा केही दिनमै बाँकी रहेको काम सुरु गर्ने बताएको भएपनि अहिले सुरु गरेको छैन्। सम्झौता मिति अनुसार भवन निमार्णको काम अहिलेसम्म सक्नुपर्ने हो। तर, अहिलेसम्म काम सकेको छैन्।’

भवन निर्माणको टेन्डर पाएको उषा निमार्ण सेवाका सञ्चालक तथा ठेकेदार विश्वकर्मालाई काम गर्न पटक-पटक ताकेता, आग्रह र आह्वान गर्दा पनि केही दिनमै बाँकी रहेको काम सुरु गर्ने भन्दै टार्दै गई वास्ता नगरेको प्रधानाध्यापक जोशीको भनाई छ।

भवन निमार्ण कार्यमा ठेकेदारले चरम लापरवाहीगरी अहिले काम गर्न छोडिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तर बिष्टले बताए। उनले भने, ‘हामीले ठेकेदारलाई भवन निमार्ण कार्य सञ्चालन गर्न ६ चोटी लेटर काटी सकेका छौं। तर, अहिलेसम्म बाँकी काम सुरु गरेको छैन। ठेकेदार हाम्रो सम्पर्कमा छैन। अब हामी कारवाहीको प्रकिृया अगाडि बढाउँछौं। पटक-पटक फोन गर्दासमेत फोनै उठाउँदैन। निमार्ण कार्यमा आनाकानी गरेको छ।’

भवनको तीन तलासम्म सबै पिल्लर र तीनै तलामा ढलान (छत) हाल्नु पर्ने सम्झौता भएको थियो। तर, अहिलेसम्म पहिलो तलामा पिलर, ढलान पूर्णरुपमा हालेको छभने दोस्रो तलामा पिलर र ढलान मात्रै हाली ढलानमा प्रयोग भएका काठका भर्टिकल सपोर्ट दिएका बाँसका टेकासमेत निकालेका छैनन्। तेस्रो तलाको सबै काम बाँकी छ। भवन निमार्णमा ठेकेदारले विद्यालयका बेन्च, विद्यालय परिसर भित्रका रुखहरु काटेर ढलानमा प्रयोग गरेको पाइएको छ।

समयमै ठेकेदारले काम नसक्दा विद्यालयले संघीय सरकारबाट नमुना विद्यालय कार्यक्रम अन्तर्गत पाउने थप अनुदानसमेत रोक्का हुन सक्ने विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष जगदीश बिष्टले बताए।

उनले भने, ‘सम्झौता भएको समयमै सक्नु पर्ने काम हो। ठेकेदारले सत्ताको आडामा काम रोकेको हो। निर्माणमा कमसल समाग्री प्रयोग गरेको छ। भवन निमार्णमा चरम लापरवाही गर्दा शिक्षा मन्त्रालयमा समयमै कामको प्रगति विवरण हाल्न नसकेकोले नमुना विद्यालय कार्यक्रम नै जोखिममा छ।’

भवन निमाणको काम पहिलाबीचमा निमार्ण समाग्रीको अभावमा रोकिएको र अब समाग्री पुगेकाले काम चलिरहेको बताउँदै यही चैतमा सम्पन्न गरिसक्ने ठेकेदार विश्वकर्माले बताए। उनले भने, ‘हामी काम गरिरहेका छौं। ८० प्रतिशत काम सकिएको छ। बीचमा सिमेन्ट सरीयाको भाउँ बढ्यो, बढेको भाउँमा निमार्ण समाग्री खरिद गरेर हामी निमार्ण गर्न सक्दैनौ घाटा हुन्छ। त्यसैले काम रोकिएको हो।’

ठेकेदार विश्वकर्मा यसअघि माओवादी केन्द्र र पछिल्लो पटक एमालेमा प्रवेश गरेका थिए। शैल्यशिखर नगरपालिकामा हाल एमाले नेतृत्वकै स्थानीय सरकार रहेको छ।

सोही ठाउँका स्थानीयहरुका अनुसार पालिका नेतृत्वकै कारण उनले भवन निर्माणमा ढिलाइ गरिरहेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।