दार्चुलामा रोजगारीका लागि गाउँ छाड्ने बढ्दै

दार्चुलामा रोजगारीका लागि गाउँ छाड्ने बढ्दै

दार्चुला । रोजगारी खोज्न, पढाइको निहुँमा तराई र सहर पस्नेको संख्या बढेपछि पहाडका गाउँ रित्ता हुन थालेका छन्। ग्रामीण भेगमा रोजगारीको अवसर नहुँदा गुजारा चलाउनकै लागि गाउँ छोड्नेको संख्या बढ्दै गएको हो। सुविधाको खोजीमा तराई र सहर पस्नेको संख्या पनि कम नहुँदा गाउँका पुराना बस्ती रित्तिँदै गएका छन्।

दशकअघिसम्म गाउँका बाक्ला बस्ती क्रमिक रूपमा पातलिँदै गएका छन्। लेकम गाउँपालिका ३ गाडागाउँमा एक दशकअघिसम्म बाक्लो बस्ती थियो। उक्त गाउँका स्थानीय बसाइँ सारेर अन्तै ठाउँ जान थालेपछि उक्त बस्तीमा थोरै मात्र मानिस बस्छन्।

यहाँका स्थानीय प्रायः घर छाडेर तराई झर्दै गएपछि गाउँ रित्तिन थालेको स्थानीय रमेशदत्त अवस्थीले बताए। पुर्खाका घर छोडेर बसाइँ सर्दा गाउँका खाली घरहरू भत्किन थालेका छन्। ‘विभिन्न किसिमका सुविधा उपभोग गर्न गाउँबाट सहर सर्न सुरु भएको बसाइँसराइ अझै रोकिएको छैन,’ अवस्थीले भने, ‘पछिल्लो समय स्थानीयस्तरमै विभिन्न किसिमका सेवासुविधा पाइन थाले पनि गाउँ छाड्ने क्रम रोकिएको छैन।’

लेकम गाउँपालिकाका लाली, लिमा, कुणी, सल्ला, डाडाकोटलगायत करिब आधा दर्जन गाउँ रित्तिन थालेका छन्। यी गाउँबाट पछिल्लो समयमा करिब अढाइ सय घरधुरी तराई झरिसकेको उनले बताए। गाडागाउँमा रहेका २८ मध्ये ११ घरमा मात्र बसोबास छ। लिलामा ५० घरबाट घटेर २८ घरमा मात्र मानिस बस्ने स्थानीय मनोज गिरीले बताए। ‘दशक अघिसम्म गाउँमा टोलपिच्छे विभिन्न किसिमका रमाइला कार्यक्रम हुन्थे। केटाकेटी मात्रै होइन, उमेर पुगेका मानिसहरू मज्जाले रमाउँथे,’ गाडागाउँका स्थानीय वृद्ध जगनाथ भट्ट सम्झन्छन्, ‘गाउँ रित्तिन थालेपछि चाडपर्व पनि आए गएको पत्तै हुँदैन। बसाइँ सरेका फर्केर नआएसम्म चाडपर्व पनि रमाइलो गरी मनाउन पाइदैन।’

सरकारी जागिर भएका र कलिलो उमेरमै गाउँबाहिर कमाउन गएका मानिसले गाउँभन्दा सुविधाले सहर अगाडि भएपछि सहर केन्द्रित बसाइ बढ्दै गएको गिरी बताउँछन्। यहाँका स्थानीय भारतीय क्षेत्र नजिक पर्ने र भारतबाट थोरै कमाएर तराईमा सस्तोमा जमिन खरिद गरेर पूरै परिवार तराई झर्ने गरेका छन्। ६० को दशकयता बढीजसो गाउँबाट तराई र सहरी क्षेत्रमा बस्न गए। अहिले बालबच्चालाई गाउँभन्दा सहरका विद्यालयमा पढाइ र अन्य राम्रो किसिमको स्वास्थ्य उपचार गराउने उद्देश्यले गाउँ छोड्न थालेका छन्।

गाउँमा विद्यालय र स्वास्थ्य उपचारको गर्न टाढा जानुपर्ने, खानेपानीको चरम समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाइँसराइको बढ्दै गएको छ। यसलाई रोक्न खास योजनासमेत प्रभावकारी नहुँदा चिन्तित भएको लेकम गाउँपालिका २ कुणीका गोपालदत्त जोशीले बताए। ‘ग्रामिण भेगका बस्तीहरू बसाइँसराइले अछुतो छैन। शैल्यशिखर नगरपालिका ७ वनतोलीका अधिकांश घर रित्ता छन्,’ स्थानीय किसनसिह बोहराले भने, ‘अब स्थानीय सरकारले बढ्दो बसाइँसराइलाई रोक्ने योजना बनाउनुपर्छ।’ ग्रामीण भेगमा खानेपानी, विद्यालय, स्वास्थ्यजस्ता आधारभूत पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाइ छ।

यहाँका मानिस कैलाली, कञ्चनपुर, दार्चुला सदरमुकाम खलंगालगायतका ठाउँमा बसाइँ सर्ने क्रम बढेको छ। यहाँका ग्रामीण भेगमा मानिसले व्यावसायिक उत्पादन गर्न वस्तु बिक्री गर्ने बजार टाढा हुनु तथा विद्यालय, भौतिक पूर्वाधारका विकास पुग्न नसक्दा बसाइँ सर्नेको लहर उर्लिएको स्थानीयको बुझाइ छ। पछिल्लो समय गाउँमा हुने जात्रा, मेला महोत्सवमा समेत आफन्तहरू नभेटिने समस्या व्याप्त रहेको लेकम गाउँपालिका ४ पातिका सरोज नाथले बताए।

स्थानीय स्तरमा रोजगारीका स्रोतहरू पहिल्याउन नसक्दा युवाहरू बिदेसिने क्रम बढ्दै गएको छ। विदेशबाट केही अंश कमाएको पैसा र गाउँको पुर्खौली सम्पत्ति बेचेर सुविधाका लागि केही मानिसहरू सहर पस्ने गरेको नाथको भनाइ छ। यसले सहरमा जनसंख्याको चाप बढ्दै गरेको र गाउँहरू रित्तिन थालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।