गोकुलेश्वर स्कुलमै मास्टरहरु ‘दारु पार्टी’मा मस्त

गोकुलेश्वर स्कुलमै मास्टरहरु ‘दारु पार्टी’मा मस्त

गोकुलेश्वर । शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयका शिक्षकहरुले विद्यालय परिसरमै मदिरासहितको भोजभतेर गरेको खुलेको छ।

हिजो (बिहीबार) विद्यालय समयमै उनीहरुले खसी काटेर मदिरासहितको पार्टी गरेका हुन्।

नयाँ शिक्षकको स्वागतमा त्यसरी पार्टी दिइएको प्रत्यक्षदर्शी एक विद्यार्थीले बताए। उक्त विद्यालयमा नयाँ शिक्षकका रुपमा तिर्थराज पन्त आएपछि खुसीयालीमा खसी काटेर मदिरा पार्टी गरिएको प्रत्यक्षदर्शीहरुले बताए। खसी काटेर आँगोमा पोलिरहेका तस्बिरपनि सार्बजनिक भएका छन्।

‘उहाँहरुले एउटा पिरियड मात्र पढाउनुभयो,’ नाम उल्लेख नगर्ने सर्तमा कक्षा ११ आ अध्ययनरत एक विद्यार्थीले भने, ‘त्यसपछिका पिरियड पढाउन कोही पनि आउनु भएन, सबै जना खसी पोल्न र रमाइलोमा व्यस्त हुनुहुन्थ्यो। बजारबाट मोटरसाइकलमा बीयरका पेटी पनि विद्यालयमा ओसारिएका थिए।’

विद्यालय परिसरको त कुरै छाडौँ, त्यस आसपासको निश्चित क्षेत्रमा पनि मदिरा बिक्रीवितरण, सेवन र भोज भतेर गर्न नपाउने शिक्षा ऐनमा उल्लेख छ।

तर, यहाँस्थित विद्यालयको परिसरमै खसी काटेर पार्टी चलेको चर्चाले बजार तातेको छ।

विदा भएपछि खसी काटेर रमाइलो गरेपनि परिसरभित्र त्यसो नगरिएको विद्यालय प्रशासनको दाबी छ।

‘विद्यालय समय सकिएपछि परिसर बाहिर खसी काटेका हौँ,’ प्रधानाध्यापक धनञ्जय जोशीले भने, ‘४ बजेपछि अरु शिक्षकहरुले खसी काटेपनि विद्यालय समय भित्र त्यसो गरिएको होइन, सबै पिरियड पढाइ भएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।