यस्तो छ मिस पबीको ‘जुम्ली लुक्स’, डोट्याली बोलेरै भइन् भाइरल

गोकुलेश्वर । गायक सुनिल गिरी आफ्नो नयाँ गीत ‘जुम्ला’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन्। उक्त गीतको म्युजिक भिडियो पनि सुन्दर बनेको छ। जुम्लामा छायांकन गरिएको भिडिओमा डडेल्धुराकी टीकटकर मिस पबीले अभिनय गरेकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। भिडियोमा पबीलाई रोशन केसीले साथ दिएका छन्।
यो गीतका शब्दहरु गायक गिरीले निल सागरसँग मिलेर रचना गरेका छन्। संगीत र संगीत संयोजन भने गायक गिरी आफैंले गरेका हुन्।
भिडियोमा अभिनय गर्ने मोडल मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्। उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन्।
टिकटकमा करिब ९ लाख फलोअर्स भएकी मिस पबीले प्रतिनिधि सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुर देउाविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन्।
भिडियो सार्वजनिक कार्यक्रममा युवा नेता सागर ढकाल, प्रतिनिधिसभा सदस्यमा विजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिति रहेको थियो।
गायक गिरीकै अवधारणा तथा कथामा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका छन्। जुम्लामा छायांकन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्याननलबाट सार्वजनिक गरिएको थियो।