दार्चुलामा छायाँकन हुँदै चलचित्र ‘भगवत् गीता’, धिरज र सुहाना मुख्य भूमिकामा

दार्चुलामा छायाँकन हुँदै चलचित्र ‘भगवत् गीता’, धिरज र सुहाना मुख्य भूमिकामा

गोकुलेश्वर। चकलेटी ब्वाई धिरज मगरले फिल्म ‘भगवत् गीता’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन्। लामो समयको छलफलपछि उनी फिल्ममा काम गर्न तयार भएका हुन्। आइतबार निर्देशक झरना थापा र धिरजबीच सम्झौताको कागजपत्र आदान-प्रदान भयो। फिल्ममा धिरजको जोडी अभिनेत्री सुहाना थापासँग बाँधिनेछ। उनीहरुले पहिलो पटक एकसाथ फिल्ममा काम गर्न लागेका हुन्।

सबैभन्दा पहिलो यो फिल्मको अफर अभिनेता अनमोल केसीलाई गरिएको थियो। उनी काम गर्न सकारात्मक पनि थिए। झरनाले ‘ए मेरो हजुर ३’ रिलिजपछि अनमोल र सुहाना ‘भगवत् गीता’मा देखिन लागेको संकेत गरेकी थिइन्। तर, पछि अनमोलले काम गर्ने इच्छा देखाएनन्। यसपछि झरनाले धिरजलाई अप्रोच गरिन्। तर, धिरजले ४० लाख पारिश्रमिक मागेपछि कुरा अघि बढेन।

धिरजको पारिश्रमिकले तर्सिएको निर्माण टिम अन्ततः अडिसनबाट हिरो छान्ने निर्णयमा पुग्यो। दुई हप्ताअघि अडिसन आह्वान पनि गरियो। उता फिल्म ‘बाबरी’को असफलताले हच्किएका धिरजले ‘भगवत् गीता’ आफ्नो हातबाट उम्किने चाल पाएपछि उनी रातारात फिल्म गर्न राजी भएको स्रोत बताउँछ। धिरजले यो फिल्मका लागि कति पारिश्रमिक लिएका छन्, त्यो भने खुलेको छैन।

फिल्ममा धिरज अनुबन्ध भएसँगै अब निर्देशक थापा छायांकनमा निस्कने तयारीमा छन्। आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको फिल्मलाई दार्चुला र जनकपुरमा खिचिनेछ। सुनिल कुमार थापाको निर्माण रहने फिल्ममा सञ्जय लामाको छायांकन, साहिल खानको सम्पादन, रामजी लामिछानेको गीतमा कोरियोग्राफी र प्रभास मल्लिकको ब्याकग्राउन्ड स्कोर रहनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।