उम्मेदवारले पैसा बाँडे एक वर्ष कैद र ५० हजार जरिवाना, उम्मेदवारी के हुन्छ ?

उम्मेदवारले पैसा बाँडे एक वर्ष कैद र ५० हजार जरिवाना, उम्मेदवारी के हुन्छ ?

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा नेकपा एमालेका प्रदेशसभाका उम्मेदवार दीपक निरौलालाई प्रहरीले शुक्रवार साँझ नियन्त्रणमा लियो। निर्वाचन प्रभावित हुनेगरी नगद वा जिन्सी दिन वा लिन नपाइने कानुनी व्यवस्था छ ।

यदि उम्मेदवार निरौलाले नगद बाँडेको पुष्टि भए निर्वाचन कसुर ऐन २०७३ अनुसार कारबाही हुने छ। उक्त ऐनको दफा २१ मा नगद वा जिन्सी दिन वा लिन नहुने भनिएको छ।

उता निरौलाले भने आरोप पुष्टि गर्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफू बिरामी भेट्न गएको र त्यहाँ कांग्रेसका कार्यकर्ताले अनावश्यक आतंक सिर्जना गरेको आरोप लगाएका छन्।

‘उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरे बापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुन हुँदैन,’ ऐनमा भनिएको छ। उक्त कार्य गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

उम्मेदवारी के हुन्छ ?
निरौलामाथि प्रहरीले थप अनुसन्धान गर्ने छ। पैसा बाँडेको आधार फेला परेमा प्रहरीले अदालतमा मुद्दा चलाउने छ। अदालतबाट फैसला नभएसम्म उनको उम्मेदवारी कायम हुने निर्वाचन आयोगका एक अधिकृतले बताए। ‘अदालतमा मुद्दा पर्छ। त्यसपछि अदालतले नै फैसला गर्छ। आयोगले गर्दैन,’ ती अधिकारीले भने।

आयोगले स्थिर समयमा दल र उम्मेदवारको सूक्ष्म निगरानी गर्न प्रहरीलाई निर्देशन दिएको छ। प्रहरीले उम्मेदवार निरौलासँगै बुढानिलकण्ठ नगरपालिका-६ का वडाध्यक्ष रवि खड्का र एमाले बुढानिलकण्ठ नगर अध्यक्ष प्रदिप डंगोललाई पनि नियन्त्रणमा लिएको छ। (शिलापत्रबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।