दक्षिण कोरियामा भागदौड : १४९ जनाको मृत्यु‚ ७६ घाइते

दक्षिण कोरिया । दक्षिण कोरियाको राजधानी सोलमा हलोविनको क्रममा भागदौड मच्चिँदा कम्तीमा १४९ जनाको मृत्यु भएको छ भने ७६ भन्दा धेरै घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार शनिबार साँझ दक्षिण कोरियाको राजधानी सोलमा भागदौड मच्चिँदा कम्तीमा पनि १४९ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।
राजधानी सोलको एक नाइट स्पटमा ठूलो संख्यामा हलोविन मनाउनका लागि मानिसहरू जम्मा भएका थिए। कोभिड-१९ महामारीपछिको यो नै पहिलो हलोविन भएकाले पनि धेरै मानिसहरू जम्मा भएको बताइएको छ। रिपोर्टका अनुसार यहाँ करिब १ लाख मानिस भेला भएका थिए।
मृत्यु भएका अधिकांश किशोर/किशोरी भएको अधिकारीले बताएका छन्। भागाभाग हुन थालेपछि प्रहरीलाई समेत उक्त भागदौड रोक्न मुस्किल परेको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेन‚ बेलायतका प्रधानमन्त्री ऋषि सुनाक र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले उक्त दुर्घटनाप्रति चिन्ता व्यक्ति गर्दै समवेदना प्रकट गरेका छन्।
घाइतेहरूको उपचार अस्पतालमा भइरहेको छ। भागदौडका कारण सयौंलाई हृदयघात भएको बताइएको छ। घटनाको कारण भने अझै खुलिनसकेको समाचार एजेन्सी योनहेपलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।
दुर्घटनापछि कोरियाका राष्ट्रपति युन सुक-योलले इतेवन क्षेत्रमा तुरुन्त उद्धार टोली खटाउन निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा भीडमा भाग्न खोज्दा धेरै मानिस सडकमा लडेको देखिएको छ। उनीहरूलाई हाल सीपीआरको माध्यमद्वारा उपचार गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले बताएका छन्।
भागदौडका कारण भीडमा सास फेर्नसमेत गाह्रो भएको उक्त र्यालीमा सहभागीले बताएको अग्निशमन विभागका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।