दार्चुला : चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ

गोकुलेश्वर । दार्चुलाको जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गर्ने एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका–५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गर्दा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्ला अस्पतालमा कार्यरत डाक्टर जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीले बताए।
ती युवक मदिरा सेवन गरी दिउँसो अस्पताल पसेको हुनाले डाक्टर अन्सारीले मदिरा सेवन गरेर अस्पतालमा नआउन आग्रह गर्दा दुर्व्यवहार गरेको बताइएको छ। चिकित्सकमाथि दुर्व्यवहार गर्ने धामीलाई नियन्त्रण लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।