दार्चुला : समानुपातिकमा जितिरहँदा प्रत्यक्षमा कसरी पछाडी पर्छ कांग्रेस?

गोकुलेश्वर । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मिति नजिकिदै जाँदा दलहरु यतिबेला उम्मेद्वार टुंग्याउने रस्साकस्सीमा लागी परेका छन्। प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको दार्चुलाका लागि नेकपा एमालेलाई उम्मेद्वारहरुको टुंगो लगाउन खास्सै सकस छैन।
एमालेले प्रतिनिधि सभाका लागि पूर्वमन्त्रीसमेत रहेका गणेशसिंह ठगुन्नालाई उम्मेदवारका लागि सिफारिस गरिसकेको छ भने प्रदेश क्षेत्र ‘ख’का लागि पूर्व जिल्ला अध्यक्षसमेत रहेका रामदत्त जोशीलाई एकल सिफारिस गरिसेको छ र ‘क’ क्षेत्रका लागि पनि एमालेलाई उम्मेदवारको टुंगो लगाउन खास्सै सकस छैन।
यता गठबन्धनबाट प्रतिनिधिसभाका लागि जिल्ला कांग्रेसको भागमा परेपनि उम्मेदवार टुंगोमा अझै अलमल जस्तै देखिएको छ। यसअघि २०७४ को निर्वाचनमा पराजित भएका विक्रमसिंह धामी र वर्तमान मन्त्री दिलेन्द्रप्रसाद बडूबीच संघर्ष चलिरहेको छ। कांग्रेसभित्र हेबीवेट नेता रहेका बडू सम्भवत टिकट पाउने पक्कापक्की देखिएको छ भने देउवा निकट मानिएका धामी टिकटका लागि लागीपरिरहेकै छन्।
यस्तै गठबन्धनका तर्फबाट प्रदेश क्षेत्र ‘ख’ माओवादीका तर्फबाट वर्तमान प्रदेश सरकारका मन्त्रीसमेत रहेका मानबहादुर धामीले टिकट पाउने निश्चित जस्तै देखिएको छ भने ‘क’ क्षेत्रका लागि कांग्रेसबाट टिकटका लागि उम्मेद्वारहरु लागी परिरहेका छन्। सम्भवत प्रतिनिधि सभाका लागि बडू उम्मेद्वार हुँदा ‘क’ क्षेत्रबाट विक्रमसिंह धामीलाई चुनावी मैदानमा उतार्ने प्रयास भइरहेको कांग्रेस निकट कार्यकर्ताहरुको भनाइ छ।
कांग्रेसका बडू र धामीलाई संविधानसभा निर्वाचन २०७० र प्रतिनिधि सभा २०७४ मा पराजित गरी एमाले नेता ठगुन्ना दार्चुलाबाट लगातार दुई पटक निर्वाचित भइसेका नेता हुन् भने बडू २०४८ र २०५६ मा दार्चुलाबाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएर २०७४ मा समानुपातिक तर्फबाट निर्वाचित भएका नेता हुन्। अहिले यी दुईबीच ह्याट्रिकका लागि पनि रस्साकस्सी भइरहेको छ। कांग्रेसले विगतका लगातार ३ ओटा चुनाव हारीसकेको छ भने एमालेले विगतका २ ओटा निर्वाचनमा लगातार जित निकालेको छ।
कांग्रेसले प्रत्यक्षतर्फ चुनाव हारिरहँदा समानुपातिकमा भने अन्य राजनीतिक दलहरु भन्दा राम्रो नतिजा लिइरहेको छ। २०७४ को प्रतिनिधि सभातर्फ कांग्रेसले २१ हजार ४ सय ६८ मत ल्याउँदा एमालेले २० हजार ६०२ मत ल्याएको थियो। प्रत्यक्ष तर्फभने एमालेका नेता ठगुन्ना २८ हजार ९ सय ९८ मत ल्याइ विजयी भएका थिए। कांग्रेसका बिक्रमसिंह धामी २२ हजार २ सय ३३ मत ल्याइ पराजित भएका थिए।
२०७४ कै प्रदेश तर्फपनि कांग्रेसले समानुपातिकमा १९ हजार ९ सय ८० मत ल्याउदा एमालेले १८ हजार ९ सय ८३ मत ल्याएको थियो। तरपनि कांग्रेसले प्रत्यक्षतर्फ प्रदेशका दुइटै क्षेत्र गुमाउनु परेको थियो।
यसरी समानुपातिकमा सधैं जितरहँदा प्रत्यक्षतर्फ पछाडी परेको सन्दर्भमा जिल्लास्थित एक कांग्रेस नेताका अनुसार टिकट वितिरणदेखि पार्टी भित्रकै अन्तरद्धन्द्धका कारण कांग्रेसले हार बेहोरिरनु परेको बताए। उनले भने, ‘नेताहरु जिल्लामा भन्दा बाहिर बढी रहने र पदिय दायित्वमा हुँदा पनि जनताका लागि कम र आफ्नतहरुका लागि मात्र बढी केन्द्रित रहि काम गर्नेहुँदा पनि जनताले ती पुरानै अनुहारलाई पत्याउन सकेका छैनन्।’