राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बैतडीका ५८ विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बैतडीका ५८ विद्यालय छनौट

गाेकुलेश्वर । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बैतडीका ५८ विद्यालय छनोट भएका छन्। उक्त कार्यक्रमका लागि आवेदन दिएका २ सय २१ विद्यालयमध्ये ५८ विद्यालय छनौट भएका शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए।

आइसिटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माणका लागि ५८ विद्यालय छनोटमा परेका हुन्। चालु आर्थिक वर्षमा बैतडीका २१ वटा विद्यालयमा आइसिटी ल्याब स्थापना हुने छ भने ३७ वटा विद्यालयमा दुई तथा चार कोठे भवन निर्माण हुनेछ।

उक्त कार्यक्रममा सबैभन्दा बढी पुर्चाैंडी नगरपालिकाका १३ विद्यालय छनोट भएका छन्। मेलौली नगरपालिका ८, सिगास र सुर्नया गाउँपालिकाका ६/६ ओटा विद्यालय छनोट भएका छन्। यस्तै पाटन नगरपालिकाका ५ विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका, दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाका समान चार/चार वटा विद्यालय छनोटमा परेका हुन्।

आइसिटी ल्याबका लागि ६ लाख ५० हजार बजेट विनियोजन गरिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। यस्तै दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट आफ्नो विद्यालय छनौट भएकोमा सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले खुशी व्यक्त गरे। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गत वर्ष यहाँका ७४ विद्यालय छनौट भएका थिए। सरकारले राष्ट्रपति शैक्षिक सुधारका लागि चालु आर्थिक वर्षमा देशभरिमा तीन हजार ४७५ विद्यालय छनोट गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।