बाढी पीडितका लागि महाकालीका जनप्रतिनिधिले भाद्र महिनाको तलब कोषमा जमा गर्ने

दार्चुला । बाढी प्रभावित क्षेत्रसमेत रहेको जिल्लाको महाकाली नगरपालिकाले बाढी पीडित परिवारका लागि भाद्र महिनाको तलब कोषमा जमा गर्ने निर्णय गरेको छ ।
भदौ २७ गते बसेको कार्यपालिका बैठकले बाढी पीडितलाई आर्थिक सहयोग सहायता स्वरुप सम्पूर्ण जनप्रतिनिधिहरुको भाद्र महिनाको तलब विपद व्यवस्थापन कोष जमा गर्ने निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले जानकारी दिए ।
यस्तै नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारी तथा शिक्षकको ५ दिन बराबरको तलव कट्टा गरी कोषमा जमा गर्ने निर्णय भएको उनले बताए ।
यसअघि नगरपालिकाले बाढीमा परी मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिमृतक १ लाख, पूर्ण रुपमा घर क्षति भएको परिवारलाई ५० हजार, पूर्ण रुपमा क्षति भएको घट्ट पुनःनिर्माणका लागि प्रथम किस्ता ५० हजार र उच्च जोखिममा रहेका घरपरिवारलाई १५ हजार दिने घोषणा गरेको थियो ।