दार्चुला बाढीपहिरो : मृतकका परिवारलाई जनही एक लाख दिने घोषणा

दार्चुला । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा। रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
उनले प्रदेश सरकारकातर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् । बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ ।
त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसितको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन् । यस्तै, बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ सहयोग उपब्लध गराउने उनले प्रतिबद्धता जनाएका छन् ।
उनको घोषणा कार्यान्वयन हुन प्रदेश मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन आवश्यक हुन्छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूसँगै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला पुगेको छ ।
उनीहरुले बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुका साथै पीडित परिवारलाई भेटेका छन् । दार्चुलामा अविरल वर्षापछिको बाढीपहिरोमा परी पाँचजनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन् ।