बैतडीका चार दलले गरे उम्मेदवार सिफारिस

गाेकुलेश्वर । आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बैतडीका चार राजनीतिक दलले उम्मेदवार सिफारिस गरेका छन्। सिफारिस गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) रहेका छन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि जिल्ला सभापति चतुरबहादुर चन्द सहित ९ जनाको नाम सिफारिस गरेको छ। विनयध्वज चन्द, नरबहादुर चन्द, शिवराज भट्ट, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर र दिनेश भट्टको नाम सिफारिस गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए।
यस्तै प्रदेशसभा क्षेत्र नम्बर (क) मा पार्टी उपसभापति वीरबहादुर विष्ट, महासमिति सदस्य हरिमोहन भण्डारी लगायत ८ जनाको नाम सिफारिस गरिएको छ। यस्तै प्रदेशसभा क्षेत्र नम्बर (ख)का लागि शिवराज भट्ट, तेजबहादुर चन्द, टेकराज जोशी लगायत १८ जनाको नाम सिफारिस गरिएको छ।
यस्तै नेकपा एमालेले पनि उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधिसभाका लागि प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारीको नाम सिफारिस गरिएको छ भने प्रदेशसभा क्षेत्र नम्बर (क) का लागि जिल्ला अध्यक्ष सुरेन्द्रबहादुर पाल र क्षेत्र नम्बर (ख)का लागि केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज लीलाधर भट्टको नाम सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)को नाम सर्वसम्मत सिफारिस गरेको छ।संघीय सांसदको समानुपातिकतर्फ लक्ष्मी ओड र श्वेता भट्टको नाम सिफारिस गरिएको माओवादी केन्द्र बैतडीले जनाएको छ।
प्रदेशसभा सदस्यका लागि पनि दुईवटै क्षेत्रबाट उम्मेदवारको नाम पनि सिफारिस गरिएको छ। प्रदेशसभा क्षेत्र नम्बर (क)बाट प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहेका शंकर भण्डारी, रणबहादुर कुँवर, वर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट (आदित्य), दलबहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको हो। प्रदेशसभा क्षेत्र नम्बर (ख)बाट प्रत्यक्षतर्फ चारजनाको नाम सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ डा.केदारचन्द्र भट्ट, गोपाल चन्द, ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ।
प्रदेश समानुपातिकतर्फ भने पार्वती नेगी‚ रेणु चन्द र लक्ष्मी पोखरेल विकको नाम सिफारिस गरिएको माओवादी केन्द्रका बैतडीका सह–इन्चार्ज विक्रम कुँवर (प्रतीक)ले जानकारी दिए।
यस्तै एकीकृत समाजवादीले प्रतिनिधि सभाका लागि पार्टीका जिल्ला इन्चार्ज परमानन्द भट्टको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ केन्द्रीय सदस्य माया भट्ट र लालसिंह कार्कीको नाम सिफारिस गरेको छ।
यस्तै प्रदेशसभा क्षेत्र नम्बर (क)का लागि परमानन्द भट्ट, नरेन्द्र विष्ट र भृकुटी चन्दको नाम सिफारिस गरिएको छ। यस्तै क्षेत्र नम्बर (ख)का लागि जिल्ला अध्यक्ष महादेव भट्ट, राजुराम भुल र पार्वती भट्टको नाम सिफारिस गरेको छ।
उम्मेदवार सिफारिसका साथसाथै यहाँका राजनीतिक दलहरूले चुनावी प्रचारप्रसार गतिविधि पनि अगाडि बढाएका छन्। कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ भने अन्य दलले पनि प्रशिक्षण संगठन विस्तारको कामलाई प्राथमिकतामा राखेका छन्।