बन्द उद्योग संचालन गरेर उत्पादन विदेश निर्यात गर्ने सरकारको तयारी : मन्त्री बडू

बन्द उद्योग संचालन गरेर उत्पादन विदेश निर्यात गर्ने सरकारको तयारी : मन्त्री बडू

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले सरकार बन्द उद्योग संचालन गरेर उत्पादनलाई विदेश निर्यात गर्ने तयारीमा रहेको बताए ।

शनिवार दार्चुलामा खाद्य कार्यालयको उद्घाटन गर्दै मन्त्री बडूले बन्द अवस्थामा रहेका उद्योगहरुलाई निजी क्षेत्रसंग समन्वय, सहकार्य गरी संचालनमा ल्याई निर्यातको नीतिमा अगाडी बढेको बताउनुभएको हो ।

मन्त्री बडूले नेपालबाट हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरुमा निर्यात भइरहेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गरी उत्पादन बढाउन सरकार तयार रहेको बताए ।

दार्चुलाका साविक ५ स्थानमा डिपो र वितरण केन्द्रमार्फत सहुलियत मूल्यमा खाद्यान्न वितरण हुँदै आएकोमा आफू मन्त्रालयको जिम्मेवारीमा आएपछि थप ७ वटा स्थानमा डिपो स्थापना गरिएको उनले बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनिको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद् सुरुवात भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारिकरण गर्नसमेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

दार्चुलामा १६ वर्षपछि बन्द रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय पुनःस्थापना गरिएको छ । २०६२ सालसम्म संचालनमा रहेको खाद्य शाखा कार्यालय १६ वर्षअघि हटाइएको थियो ।

सरकारी स्वामित्तको कम्पनीले दार्चुला सदरमुकाम खलंगामा शाखासहित जिल्लाका अन्य स्थानमा ७ डिपो संचालनमा ल्याउने जनाएको छ । जिल्ला सदरमुकाममा शाखा खुलिसकेको छ भने अपि हिमाल गाउँपालिकाको घुसा र सितोला, व्याँस गाउँपालिकाको तिंकर र राप्ला, लेकम गाउँपालिकाको कुणी र नौगाड गाउँपालिकाको नागुमा डिपो संचालनमा ल्याइनेछ ।

खाद्य शाखा तथा डिपोहरुमा गुणस्तर मापन दुई प्रकारका चामल उपलब्ध हुनेछन् । सदरमुकाम खलंगामा मोटो चामल ४५ रुपैयाँ प्रतिकिलो र जिरा मसिनो चामल ६६ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराइने जनाइएको छ । जिल्लाका आधा दर्जनजति क्षेत्रमा खोलिएका र खुल्ने प्रक्रियामा रहेका डिपोहरुबाट सहुलियत दरमा खाद्यान्न बिक्रि, वितरण गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *