जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन

गाेकुलेश्वर । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ। सङ्घीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो।

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ।

कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै वि.सं. २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीका कारण प्लान्ट स्थापनाको काममा ढिलाई भएको हो।

प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। उनले भने, ‘यसअघि जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता थियो, अब भने त्यो बाध्यता हटेको छ।’

प्लान्ट जडान गरेर सञ्चालनमा आएसँगै कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ। कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी स्वरुप प्लान्ट सञ्चालनमा आएको छ। कोरोनाको पहिलो, दोश्रो र तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो। सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट सञ्चालनपछि अब सहज भएको छ।

उक्त प्लान्ट निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर दीपेश श्रेष्ठले बताए। प्रमुख डा. श्रेष्ठले भने, ‘प्लान्ट स्थापनाले ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ। सिलिन्डर बोक्नुपर्ने बाध्यता हट्छ।’

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३५५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *