मालिकार्जुन : कार्यालय सहयोगी भर्नाको विषयमा खिचातानी

गोकुलेश्वर । दार्चुलाको मालिकार्जुन गाउँपालिका-२ मा रहेको रानीस्थान आधारभूत विद्यालयमा मनोमानी ढंगले कार्यालय सहयोगी भर्ना गर्ने विषयमा विद्यालयले आपत्ति जनाएको छ। मालिकार्जुन गाउँपालिका शिक्षा शाखाले आफूखुसी कार्यालय सहयोगी भर्ना गर्न लागेको भन्दै विद्यालयले आपत्ति जनाएको हो।
प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको निर्णयले हुने काम शिक्षा शाखाप्रमुख लोकेन्द्रसिंह धामीले गर्न लागेको विद्यालयका प्रधानाध्यापक कल्यानसिंह धामीले बताए।
‘एक्लै शिक्षा शाखाको निर्णयले विद्यालयमा कर्मचारी भर्ना गर्ने हो भने विद्यालय व्यवस्थापन समितिको के काम? यसको अर्थ विद्यालय व्यवस्थापन समितिलाई नटेरेको हुन्छ, यो घटना सामान्य होइन’ प्रधानाध्यापक धामीले भने।
कार्यालय सहयोगी पदका लागि जम्मा ६ जनाको उम्मेदवारी परेको विद्यालयले जनाएको छ। उम्मेदवारहरुको हस्ताक्षरसहित जस्ताका त्यस्तै शिक्षा शाखामा लिई सो प्रक्रिया अगाडि बढाउन विद्यालयको पहिलो बैठकमै विषय विशेषज्ञ छनोट गर्ने विद्यालय व्यवस्थापन समितिको अधिकार शिक्षा शाखा प्रमुखबाट हनन् भएको विद्यालयको भनाइ छ।
तर शिक्षा शाखा प्रमुख धामीले भने, ‘परीक्षा लिएर मात्र कार्यालय सहयोगी छनोट गर्ने भनेपछि विद्यालयका प्रधानाध्यापकले बिना परीक्षा भर्ना गर्नुपर्ने धम्कीसमेत दिए।’ यस्तै उनले भने, ‘विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्नो मनोमानी ढंगले कार्यालय सहयोगी भर्ना गर्नुपर्ने दबाब दिइरहेका छन्।’