सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि, सीमा क्षेत्रमा कडाइ

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि, सीमा क्षेत्रमा कडाइ

गाेकुलेश्वर । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर दोब्बरले वृद्धि भएको छ। शुक्रबार १९ जनामा संक्रमण देखिएकोमा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसका साथै साउन महिनाको दुई साताको संक्रमणदर हेर्दा पनि पहिलोभन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ। पहिलो साता ५६ जनामा संक्रमण देखिएकोमा दोस्रो साता थप ११३ जनामा संक्रमण पुष्टि भएको हाे।

भारतमा कोरोना संक्रमणदर नियमित रुपमा बढिरहेकाेले सीमा जोडिएको यस प्रदेशमा संक्रमणदर बढ्दै गएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।

दुई हप्ता अगाडि शून्यमा झरेको कोरोना संक्रमणदर हाल बढ्दै गएसँगै जोखिम बढेको हो। गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको छ।

उनले भने, ‘पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो। सीमा नाकामा हेल्थ डेस्क स्थापना गरी आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रुपमा भइरहेको छ।’

सीमा क्षेत्रमा जोखिम बढेकोले यहाँका सबै नाकाहरुमा स्वास्थ्य चेकजाँचमा कडाइ गरिएको छ। यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रुपमा सञ्चालनमा रहेको जोशीको भनाई छ।

संक्रमणदर बढेकोले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयको आग्रह छ।

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५८ हजार ७४३ जनाको कोरोना परीक्षण गरिएकोमा ५९ हजार ८९९ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *