श्रीमानले आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाए, श्रीमती घाइते

श्रीमानले आफ्नै घरमा पेट्रोल छर्केर आगो लगाए, श्रीमती घाइते

काठमाडौं । दाङको तुलसीपुरमा एक व्यक्तिले पेट्रोल छर्किएर आफ्नै घरमा आगो लगाएका छन्। आगलागीमा परेर उनकी श्रीमती जलेर घाइते भएकी छिन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका उज्वल श्रेष्ठले घरमा पेट्रोल छर्केर घरमा आगो लगाउन खोज्दा उनकी २८ वर्षीया श्रीमती माया श्रेष्ठ घाइते भएकी हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार मंगलबार दिउँसो १२ बजेतिर श्रेष्ठले घरमा आगो लगाउन खोजेको थिए। त्यसक्रममा जलेर घाइते भएकी उनकी श्रीमतीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। श्रेष्ठको हात, खुट्टामा जलेको छ।

ती व्यक्तिले श्रीमतीसँग पटक-पटक विवाद हुँदै आएको र आफू तनावमा भएको प्रहरीसमक्ष बताएका छन्। उनले घरमा आगो लगाएर आफू पनि आत्महत्या गर्न खोजेको बयान दिएको प्रहरी नायब उपरीक्षक अर्यालले बताए।

आगलागीबाट कोठामा रहेका दराज, कपडा, टिभिलगायतका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ। प्रहरीले ती श्रेष्ठलाई पक्राउ गरी थप घटनाबारे अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *