दार्चुलामा यार्चा पाउनै मुस्किल, फर्कंदै संकलक

दार्चुलामा यार्चा पाउनै मुस्किल, फर्कंदै संकलक

दार्चुला । हरेक वर्ष पाटन उक्लिने भीडका कारण यो वर्ष यार्चागुम्बु संकलनमा कमी आएको छ। यार्चा पाउनै मुस्किल भएपछि लेक उक्लिएका स्थानीय घर फर्कन थालेका छन्। अपी हिमाललगायतका पाटनहरूमा यार्चा संकलनका लागि गएका स्थानीयले पछिल्लो समय यार्चामा कमी आउन थालेको बताएका छन्।

अपी हिमाल गाउँपालिका–१ का नयनसिंह धामीले पाटन गएका संकलकहरू धेरैजसो घर फर्किरहेको बताए। ‘अव्यवस्थित तरिकाले यार्चागुम्बु संकलन गरिए उच्च लेकाली भेगका पाटनमा पाइने यार्चागुम्बु लोप हुने जोखिम छ,’ उनले भने।

दार्चुलावासीको मुख्य आयस्रोतका रूपमा रहेको यो जडीबुटी व्यापक रूपमा अव्यवस्थित तवरले दोहन हुँदा लोप हुने चिन्तामा स्थानीय रहेको धामीले बताए। स्थानीयसँगै जिल्ला बाहिरका मानिस पनि यार्चागुम्बु संकलनका लागि दार्चुला पाटनहरूमा धेरै आएका छन्। स्थानीय पनि व्यवस्थित रूपमा संकलन नगर्ने र बाहिरका मानिसलाई त जसरी संकलन गरे पनि समस्या नरहेको उनको भनाइ छ।

गत वर्ष करिब डेढ लाख मूल्य बराबरको यार्चागुम्बु संकलन गरेका अपी हिमाल गाउँपालिका–६ का विशनसिंह बुढाथोकीले यो वर्ष करिब एक महिनाको अवधिमा ५० हजारसम्म बढी आम्दानी हुन नसकेको बताए। ‘पोहोरभन्दा यो वर्ष संकलनमा आधा कमी आएको छ’ उनले भने, ‘बर्सेनि एकै ठाउँमा संकलन गरिने र यो बर्ष हामीले संकलन गर्ने पाटनमा पोहोरभन्दा तेब्बर मानिसहरू रहेकाले संकलनमा कमी आएको हो।’ उनले दिनहुँ संकलनमा कमी आइरहेकोले दुई/तीनमा घर फर्कने सोच बनाएको बताए। ‘गत वर्षको यार्सा संकलनबाट ६ महिनाको घर खर्च चलेको थियो, यसपाला मुस्किल छ’ उनले भने।

जिल्लाका अपी हिमाल, ब्यास, नौगाड, मार्मा र दुहुका अधिकांश स्थानीय यार्चागुम्बु संकलनबाट जीविकोपार्जन गर्छन्। अहिले यहाँका मानिस घरमा ताल्चा लगाएर लेकतिर गएका छन्। एक/दुई महिनाको यार्चागुम्बुलगायतको जडीबुटी संकलन गरेर वर्षभरिको खर्च जोहो गर्ने गरेको अपी हिमाल गाउॅपालिका–१ का वडाध्यक्ष पोखरसिंह लोथ्यालले बताए। यहाँका स्थानीयको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको यार्चागुम्बुलगायतका जडीबुटी संकलनलाई व्यवस्थित रूपमा गर्न स्थानीय सरकारदेखि अन्य सरोकारवाला निकायले समयमै ध्यान पुर्‍याउन नसके केही वर्षमै लोप हुने खतरा रहेको उनको भनाइ छ।

आर्थिक उपार्जनका लागि यार्चा संकलन गर्न लेकतिर गएका अधिकांश गाउँका स्थानीयवासी अहिले निराश बनेर घर फर्किरहेका छन्। यसपालि यार्चाको सिजन राम्रो नभएको उनीहरू बताउँछन्। दैनिक २५/३० गोटा यार्चा पाउने मानिस यसपाला ३ देखि बढीमा ७ गोटामा सीमित छन्। खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने हिमाली क्षेत्रमा बसोबास गर्ने परिवारको यार्चागुम्बु संकलनबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ।

जोखिम मोलेर यहाँका स्थानीय यार्चा संकलन गरेर जीवन निर्वाह गर्दै आएको व्यास गाउँपालिका–६ स्थित हिमालय माविका शिक्षक हरकसिंह खातीले बताए। सबैले यो सिजनको यार्चा संकलन नै आम्दानीको आधार बनाउँदै आएका छन्। तर, पछिल्लो समयमा यार्चाको संकलन क्रमिक रूपमा घट्दै गएको छ। अव्यवस्थित रूपमा समय अगावै यार्चा संकलन गरिने हुनाले यसको संकलन घटेको हुन सक्ने उनको भनाइ छ।

‘हिमाली क्षेत्रका स्थानीयवासीको आर्थिक स्रोतका रूपमा विकल्प नभएपछि अनुमतिबिनै यार्चागुम्बु संकलन गर्नुपर्ने उनीहरूको बाध्यता हो,’ शिक्षक खातीले भने, ‘हिमाली क्षेत्रका जनताको आयको प्रमुख स्रोत भनेकै जडीबुटी हो।’ उनका अनुसार कोरोना महामारीका बीच पनि पेट पाल्नकै लागि पाटनतिर जानुपर्ने उनीहरूको रहर नभएर बाध्यता हो। रोगले भन्दा पनि भोकले मरिन्छ कि भन्ने चिन्ता हिमाली क्षेत्रका स्थानीयमा लागेको छ।

विगतमा यो बेला विद्यालय बन्द गराएर हिमाली क्षेत्रका स्थानीय सबै यार्चागुम्बु संकलन गर्न विद्यार्थी, शिक्षकलगायतका कर्मचारी जाने गरेका थिए। तीनदेखि चार हजार मिटरको उचाइमा पाइने यार्चागुम्बु टिप्नका लागि जेठ पहिलो सातादेखि अनुमति जारी हुँदै आएको थियो। यसपटक अधिकांश बिनाअनुमति नै यार्चा टिप्न लेकतिर गएका हुन्। कान्तिपुरबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *