अख्तियारमा सबैभन्दा बढि मालिकार्जुनका उजुरी, व्याँसका शून्य

अख्तियारमा सबैभन्दा बढि मालिकार्जुनका उजुरी, व्याँसका शून्य

दार्चुला : अख्तियारमा पर्ने उजुरीमध्ये अधिकांश गाउँको सिंहदरवार भनिने स्थानीय तहका पर्ने गरेको तथ्यांकले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरले बुधवार दार्चुलामा गरेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा सबैभन्दा बढि उजुरी स्थानीय तहका रहेको पाइएको हो । कार्यपत्र प्रस्तुत गर्दै कार्यालयका सूचना अधिकारी चन्द्रकान्त बस्नेतले चालु आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्तसम्म दार्चुलाका ७८ उजुरी दर्ता भएको बताए ।

९ स्थानीय तह रहेको दार्चुलामा सबैभन्दा बढि १० उजुरी जिल्लाको मालिकार्जुन गाउँपालिकाका अख्तियारमा छन् । गत आर्थिक वर्षका १७, चालु आवमा ६ गरी २३ उजुरी परेको तथा चालु आवमा नै १३ उजुरी फर्छयौट गरेकोमा अझै १० उजुरी बाँकी रहेको सूचना अधिकारी बस्नेतले बताए । यस्तै लेकम गाउँपालिकाका ६ उजुरी, महाकाली नगरपालिकाका ५, शैल्यशिखर नगरपालिकाका ३, नौगाड र अपी हिमाल गाउँपालिकाका २÷२, मार्मा, दुहुँ गाउँपालिकाका १÷१ उजुरी परेको उनले बताए । व्याँस गाउँपालिकाका चालू आर्थिक वर्षमा २ उजुरी परेकोमा दुई वटै नै फर्छयौट भएका छन् ।

स्थानीय तहमा सार्वजनिक खरिद र निर्माणतर्फ गलत स्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानूनको पालना नगर्ने÷नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्ने, जिन्सी दाखिला नगर्ने वा गलत दाखिला प्रतिवेदन तयार पार्ने, उपभोक्ता समितिसम्बन्धी कार्यविधि पालना नगर्ने वा गलत प्रतिवेदन तयार गर्ने जस्ता प्रवृत्तिले उजुरी बढेको देखिएको कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये सबैभन्दा बढि उजुरी अख्तियारमा कन्चनपुरको भीमदत्त नगरपालिकाका छन् भने दार्चुलाको मालिकार्जुन गाउँपालिका १० औँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *