जिसस दार्चुलामा गठबन्धन विजयी

दार्चुला । जिल्ला समन्वय समिति दार्चुलामा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। सत्ता गठबन्धन दलकोतर्फबाट प्रमुखमा नेपाली कांग्रेसका महादेव बडू(कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी भएका छन्।
कांग्रेसका प्रमुखसहित ६ र माओवादीका उपप्रमुखसहित ३ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सदस्यमा गठबन्धनबाट कांग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित भएका छन्।
यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित भएका छन्। गठबन्धनका उम्मेदवारहरुले १० मत ल्याएर विजयी भएका हुन्। प्रतिष्पर्धीका रुपमा रहेका एमाले उम्मेदवारहरुले ८ मत पाएका थिए। स्थानीय निर्वाचन सम्पन्न भएको एक महिनाभित्र जिसस गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोमवार निर्वाचन गरिएको हो।