पेट्रोलियम पदार्थको समस्या समाधान गर्न बन्यो कार्यदल

पेट्रोलियम पदार्थको समस्या समाधान गर्न बन्यो कार्यदल

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ वितरण, आपूर्ति, मूल्य समायोजनलगातका समस्या सम्बोधन गर्न अध्ययन कार्यदल गठन भएको छ। संसदमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले कार्यदल गठन गरिएको जानकारी दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा गठित अध्यन कार्यदलमा राष्ट्र बैंकका गर्भनर, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवहरु र विज्ञसमेत रहनेछन्।

प्रतिनिधि सभामा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव सन्दर्भमा जवाफ दिँदै उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले यही जेठ १० गते बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय कार्यदल गठन गरेको जानकारी दिए।

कार्यदलले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन नेपाल सरकारले अपनाउनुपर्ने नीतिगत, कानुनी एवं संस्थागत सुधार, पेट्रोलियम पदार्थको माग, आपूर्ति र भण्डारण क्षमताबीच सन्तुलन कायम गरी आपूर्ति प्रणाली सहज बनाउने विधि, प्रक्रिया एवं वितरण प्रणाली लगायतका विषयमा अध्ययन गरी सुझाव पेस गर्ने छ।

मन्त्री बडूले रुस र युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भई नेपालमा बाध्यात्मकरुपमा मूल्यवृद्धि गर्नुपरेको बताउँदै नेपाल आयल निगमलाई १ जुन २०२२ मा प्राप्त मूल्यका आधारमा पेट्रोलमा प्रतिलिटर रु ३१ घाटा हुँदा पनि बिहीबार प्रतिलिटर रु १० मूल्य घटाइएको जानकारी दिए।

निगमले घाटा बेहोरेर पनि उपभोक्तालाई राहत दिन सरकार जिम्मेवार रहेको जनाउँदै उनले प्रस्तावमा उल्लेख भएझैँ पटक-पटक नभई महिनामा बढीमा दुई पटकमात्र मूल्य समायोजन भएको बताए।

मन्त्री बडूले विद्युतीय चुलो प्रयोगलाई अभियानका रुपमा विस्तार गर्नेलगायत सरकारको नीति तथा कार्यक्रमबारे अवगत गराउँदै ती कार्यक्रम प्रभावकारीरुपमा सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।