दार्चुलामा बडूगाउँ र बाँकु पुल उद्घाटन

गोकुलेश्वर । तुइन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदीमा निर्माण गरिएका नेपाल–भारत जोड्ने थप दुई झोलुङ्गे पुल संचालनमा आएका छन्।
मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित नेपाल–भारत जोड्ने बाँकु–द्धाली सेरा पुल र ब्याँस गाउँपालिका–६ को बडूगाउँ पुल बिहीवारदेखि संचालनमा आएका हुन्।
बिहीवार एक कार्यक्रमकाबीच दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, भारत पिथौरागढ जिल्लाका डिएम आशिस चौहान तथा सम्बन्धीत पालिका प्रमुखहरुको उपस्थितिमा पुल उद्धघाटन गरिएको हो।
नागरिकको सहज आवागमन र तुइन विस्थापन गर्नका निम्ती पुल निर्माण गरी संचालनमा ल्याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। पुल उद्घाटन कार्यक्रममा बोल्दै पिथौरागढ जिल्लाका डिएम आशिस चौहानले नेपाली बाँकु क्षेत्रका बासिन्दाहरुको माग बमोजिम स्वास्थ्योपचारका लागि भारतीय क्षेत्रमा सुविधा सम्पन्न स्वास्थ्य संस्था निर्माण गर्न स्वास्थ्य संस्थाका प्रतिनिधिलाई निर्देशन दिए।
पुल संचालनमा आएसँगै अब स्थानीयहरुको ट्युव तथा तुइनमार्फत वारपार गर्नुपर्ने बाध्यता हटेको छ। महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर सस्पेन्सन ब्रीज डिभिजनले चार स्थानमा झोलुङ्गे पुल निर्माणको ठेक्का पाएको थियो। जसअन्तर्गत व्याँसको बडूगाउँ र मालिकार्जुनको बाँकु पुल निर्माण सम्पन्न गरी संचालनमा आएका हुन्। व्याँसमा थप २ पुल निर्माणाधीन छन्। यसअघि दार्चुलामा भारतसँग सीमा जोडिएका ६ पुल संचालनमा थिए।