डिलासैनीमा यसरी उदायो सन्तोषको ‘पुतली’

डिलासैनीमा यसरी उदायो सन्तोषको ‘पुतली’

गोकुलेश्वर। स्थानीय तह चुनावको अघिल्लो दिनसम्म बैतडीको डिलासैनी गाउँपालिकाका जनताले कसलाई निर्वाचित गराउलान् भनेर शंसय थियो। एमाले र नेपाली कांग्रेसबीच मुख्य प्रतिस्पर्धा थियो। अर्कातिर थिए, स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशीको टिम।

एमाले र कांग्रेसले व्यापक चुनावी प्रचारप्रसार गरिरहँदा उता सन्तोषको टिम पनि आफ्नै तरीकाले चुनावी प्रचारमा खटिएको थियो। आफ्ना एजेन्डाहरु जनतामाझ राखिरहेको थियो। अन्ततः चुनाव भयो। जनताले पार्टीलाई छाडेर स्वतन्त्र उठेका सन्तोषलाई आउँदो पाँच वर्षका लागि गाउँपालिकाको अध्यक्षका रुपमा चुने।

सन्तोषको स्वतन्त्र उम्मेदवारी र विजय यात्रा सहजै बनेको थिएन। सन्तोष र उनको टिमले प्राप्त गरेको सफलताको कथाको पछाडि अरु उपकथा धेरै छन्। सन्तोषको उम्मेदवारी घोषणा पार्टीबाट टिकट नपाउँदा सुरु भएको विश्लेषण हुने गरेपनि उनले त्यसअघि नै त्यसक्षेत्रका स्थानीय जनताको मत जितिसकेका थिए।

एमाले पार्टीले आफूलाई सिफारिस गर्नेमा ढुक्क थिए ३५ वर्षीय सन्तोष। उनले गाउँमा गरेको काम, जनताको सामुन्ने उनले प्राप्त गरेको लोकप्रियता उनले टिकट पाउनुपर्ने मुल तत्व थिए। उनको पार्टी एमाले मात्रै नभएर अन्य पार्टीका नेता कार्यकर्ताहरुमा पनि सन्तोषले पालिकाको नेतृत्व गर्नुपर्छ भन्ने थियो। तर, पालिका कमिटीले उनलाई टिकटका लागि सिफारिस नै गरेन।

यसको मुल कारण थियो, एमालेका बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालसँग सन्तोषको खराब सम्बन्ध। गएको जिल्ला अधिवेसनका वेला फरक प्यानल बनाएर निर्वाचन लड्न खोजेका थिए उनले। तर, पालले सहमतिबाट नेतृत्व चयनका लागि भन्दै सन्तोष लगायतको टिमलाई बाहिर राखेर जिल्ला कमिटी बनाए।

तर कथा यो भन्दा पहिले नै सुरु भइसकेको थियो। डिलासैनी गाउँपालिकाको केन्द्र कहाँ बनाउने भन्ने विषयमा लामो छलफल भएको थियो। संघीय संरचनामा मुलुक गइसकेपछि गाउँपालिकाको नाम र केन्द्र सिफारिस समितिले पालिकाको नाम डिलासैनी र केन्द्र वडा नम्बर ७ धामी गाउँमा राख्ने भनेको थियो।

यसपछि ०७४ सालको स्थानीय निर्वाचन भयो। उक्त निर्वाचनबाट निर्वाचित प्रतिनिधिले पनि सोही अनुसार गर्ने निर्णय गरे। निर्णय मात्रै भएन्। त्यहाँ डिलासैनी भगवती मन्दिरमा गएर कसम नै खाए जनप्रतिनिधिले डिलासैनी ७ मा नै पालिका हुनुपर्छ भनेर। तर पछि पालिकाको केन्द्र अचानक सारियो, सम्पर्क कार्यालयको नाममा। अध्यक्ष पालको सक्रियतामा ७ नम्बर वडामा राख्ने भनिएको केन्द्रलाई ३ नम्बर वडामा सारियो। जुन पालको गृहगाउँ पर्छ।

पहिलै तोकिएको र जनप्रतिनिधिले निर्णय गरिसकेको निर्णय उल्टिएपछि विवाद बढ्दै गयो। नागरिक समाजले आन्दोलन सुरु गर्यो। त्यसको संयोजन जयराज जोशीले गरे। उनलाई अन्य दलको पनि समर्थन थियो। जयराज पछि नेपाली कांग्रेस प्रवेश गरेर पालिका सभापति भए।

तर आन्दोलनले मुर्त रुप तब लियो तब यो आन्दोलनमा सन्तोषको टिम पनि समावेश भयो। एमालेमा हुँददेखि नै सन्तोषहरुको अडान थियो, पालिका तोकिएकै ठाउँमा हुनुपर्छ। तर, विवाद यसरी बढ्यो कि मुद्दा सर्वोच्च अदालसम्म पुग्यो। पछि नेपाल सरकारको सचिवस्तरीय निर्णयले डिलासैनी ७ मै केन्द्र हुनुपर्ने निर्णय भयो।

यसमा सन्तोषसँगै अन्य न्यायिक आन्दोलनका सदस्यहरुको ठूलो साथ र सहयोग छ। यो घटनापछि पालसँग सन्तोषको टसल झनै बढेर गयो भनिन्छ।

पालिका केन्द्रको आन्दोलन सर्वोच्चसम्म पुग्दा सन्तोषले वडा नम्बर ४, ५, ६, ७ का जनताको मन जितिसकेका थिए। सडक सञ्जालबाट टाढा रहेका जनतालाई सन्तोषकै नेतृत्वमा जनश्रमदानबाट सडकको ट्रयाक खोल्ने काम सुरु भयो। जनताको सहयोग र व्यक्तिगत खर्चबाट उनले १३ किलोटिमर बढी सडकको ट्र्याक खोले।

सन्तोषकै कारण अहिले उपभोग्य सामाग्री, निर्माण सामाग्री ढुवानीमा सहज भएको छ। जसरी नेपालमा लोडसेडिङ हट्दा कुलमान घिसिङलाई जनताले सम्मान दिएका थिए, त्यसरी नै डिलासैनीमा सडक पुग्दा सन्तोषलाई पनि सम्मान गरिएको थियो।

यसपछि भने पार्टीले सिफारिस नगरे पनि स्थानीय जनताले पालिकामा सन्तोष नै आउनुपर्छ भनेर अभियान सुरु गरे।

जनतामा यो अभियान चलाउने हिम्मत र आँट सन्तोषले नै भरेका थिए। नत्र पालिकाभरि अध्यक्ष पालको मनोमानी विरुद्ध आवाज उठाउने हिम्मत अरु कसैले गर्न सकेका थिएनन्। पालिकाबाट योजना पाउने लोभ तथा डरका कारण बोल्नै सकेका थिएनन्। तर, सन्तोषले आफ्नै पार्टीको नेतृत्वको गलत प्रवृत्तिविरुद्ध बोलेपछि जनताले उनको साथ दिए। जसका कारण अबको पाँच वर्षका लागि पालिका हाँक्नेछन् उनले।

सन्तोषले स्वतन्त्र प्यानल बनाएर आफ्नै एमाले र गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गरे। वडा नम्बर ४, ५ र ७ मा त सन्तोषको स्वतन्त्र टिमबाट वडाध्यक्षको प्यानलै विजयी भए। धरान र काठमाडौंमा लौरोले मूलधारका दललाई कुटिरहँदा बैतडीको डिलासैनीमा पुतली चम्कियो।

वडा नम्बर ४ मा हरि पन्त, वडा नम्बर ५ मा यज्ञ भट्ट र वडा नम्बर ७ मा प्रकाशमणि भट्ट पनि प्यानलसहित स्वतन्त्र हैसियतमा विजयी भए।

९ हजार आसपासमा मत खसेको डिलासैनी पालिकामा मतगणना हुँदा सुरुका तीन वडामा सन्तोषको मत २६५ पुग्दा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार लोकेन्द्रबहादुर रानाको १८१३ पुगिसकेको थियो। अर्का उम्मेदवार एमालेका अक्कल बहादुर रानाको १७१५ मत पुगेको थियो।

तर वडा नम्बर ४ को गणना सम्पन्न हुँदा उनले कमब्याक गर्न सुरु गरे। स्वतन्त्र वडाध्यक्षका उम्मेदवार प्यानलसहित विजयी भएको सो वडामा सन्तोषले ५४५ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०२ र एमाले उम्मेदवार जम्मा १३५ मत पाए।

वडा नम्बर ७ को मतगणना हुँदा समेत ३ सय मतले पछि परेका सन्तोषले त्यहाँ १०१७ मत प्राप्त गरे। जहाँ गठबन्धन उम्मेदवारले १६६ र एमाले उम्मेदवारले १४५ पाए। गठबन्धन उम्मेदवारले २६५१ र एमाले उम्मेदवारले २५५७ पाउँदा सन्तोषले फिल्मी सैलीमा कमब्याक गर्दै समग्रमा ३१८९ मतका साथ विजयी हाँसिल गरे।

जनताले पाँच वर्षका लागि सन्तोषलाई निर्वाचित गर्नुअघि पनि ठूलो चुनौतीसँग थिए। अहिले निर्वाचित भएपछि झनै ठूलो चुनौतीसँग छन्। पालिकाका गर्नुपर्ने कामहरु थुप्रो छन्, जसलाई अवको पाँच वर्षमा फत्ते गर्नुपर्नेछ सन्तोषले।

सन्तोष भन्छन्, ‘अहिले हामी टेलिकमको टावर निर्माणका लागि लागिरहेका छौं। साथीहरु फिल्डमा खटिनुभएको छ। अब पहिलो काम यहीँबाट सुरु गर्दैछु।’ सन्तोषका अनुसार अचेल दिउँसोे मात्रै अलिअलि नेटवर्क टिप्न सक्ने अवस्था छ, त्यो पनि घाम परेको समयमा मात्रै। राति भने नेटवर्क नै टिप्दैन।

पाँच वर्षअघि यस्तो अवस्था नभएको भन्दै उनी भन्छन्, ‘अहिले दिउँसै कुरा गर्न पाउनु भनेको भाग्यको कुरा हो। तर अब यो समस्यालाई हामी चाँडै समाधान गर्नेतिर लागेका छौं।’

गाउँपालिकामा समस्या नेटवर्कको मात्रै छैन। डिलासैनीसँग सीमाना जोडिएको दार्चुलामा चमेलिया जलविद्युत् आयोजना छ। तर, छेवैको डिलासैनी पालिकाको ९० प्रतिशतभन्दा ज्यादा अँध्यारोमा छन्। सडक विस्तारको अवस्था राम्रो छैन। भर्खरै ट्रयाक खुले पनि त्यसलाई अझैं व्यवस्थित गरेर कालोपत्रे गर्दै सडक संजाललाई केन्द्रसम्म जोड्न बाँकी नै छ।

खानेपानीको मुलहरु भए पनि गाउँमा पु¥याउन नसक्दा अवस्था जर्जर छ, त्यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्ने सन्तोष बताउँछन्। भन्छन्, ‘अबको पाँच वर्ष म यी मूल मुद्दाहरुमा ध्यान केन्द्रित गर्छु। साथै हाम्रो पालिकाको आफ्नै भवन छैन, वडामा पनि आफ्नै भवन छैन। अघिल्लो स्थानीय सरकारले केही गरेन। त्यो काम पनि गर्नुपर्ने दायित्वभित्र छन्।’

सन्तोषले पार्टीबाट विद्रोह गरेर जनताको समर्थनमा जित निकाले। यसबीचमा अब उनको भूमिका फेरिएको कारण पाँच वर्ष जनताकै सेवा गर्ने सोचमा छन्। उनलाई एमाले पार्टीले निष्कासन गरेको छैन तर पनि उनी पार्टीमा फर्केर काम गर्ने कि स्वतन्त्रै बस्ने भन्ने निर्णयमा पुगिसकेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *