देशभर मतगणना जारी रहेका २१३ मध्ये १०४ स्थानमा कांग्रेसको अग्रता

काठमाडौं। स्थानीय तहको शुक्रबार भएको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ। काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएको छ। भरतपुर र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन।
जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा मतगणनाको सुरुवाती रुझान आएको छ। केही पालिका र वडाहरूको परिणाम पनि आउन लागेको छ।
बिहान सवा १० बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ। दोस्रो स्थानमा एमाले छ।
कांग्रेसले यो समाचार तयार पार्दासम्म प्राप्त मतगणना परिणामअनुसार १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ। उसले उपमेयर/उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर/उपाध्यक्षमा जित हासिल गरेको छ।
अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ। उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ। एमालेका उपमेयर/उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन्।
अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ। उसले ३२ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर/उपाध्यक्षमा अग्रता लिइरहेको छ।
जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर/ अध्यक्षमा अग्रता लिइरहेको छ। एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन्।