पूर्वप्रधानमन्त्री भट्टराईले मतदान गर्दै देखाए मत संकेत, यस्तो हुनसक्छ कारवाही

पूर्वप्रधानमन्त्री भट्टराईले मतदान गर्दै देखाए मत संकेत, यस्तो हुनसक्छ कारवाही

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मत संकेत सार्वजनिक गरेका छन्। शुक्रबार बिहान साढे ८ बजे गोरखाको पालुङटार नगरपालिका १ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्।

भट्टराईले मतदान गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेको तस्बिरमा मत संकेत प्रस्ट देखिएको छ। उनले मतदानपछि सामाजिक सञ्जालमा लेखेका छन्, ‘गोरखा पानपास्थित अन्नपूर्ण माविको बुथमा बिहान ८:२५ बजे मतदान गरेर लोकतान्त्रिक अधिकार र कर्तव्य निर्वाह गरियो। सबैले मतदान गरौँ, स्थानीय लोकतन्त्र सुदृढ गरौँ।’

मत संकेत सार्वजनिक गर्न नहुने कानुनी व्यवस्था रहेको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने व्यवस्था छ। त्यसो गरिएमा मतदान अधिकृतले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ।

‘कसैले पनि मतपत्रमा मत संकेत गरिसकेपछि त्यस्तो मतपत्र कसैलाई देखाउन, प्रदर्शन गर्न, गोप्य मत संकेत स्थलमा मत संकेत नगरी त्यसभन्दा बाहिर गई मत संकेत गर्न वा मत संकेत गरेको व्यहोरा कुनै प्रकारले सार्वजनिक गर्न हुँदैन,’ ऐनमा व्यवस्था गरिएको छ। त्यसो गरिएको अवस्थामा के भन्नेबारे उल्लेख छ, ‘उपदफा (१)विपरीतको कार्य गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ।’

भट्टराईले मेयरमा जनता समाजवादी पार्टीको चुनाव चिह्न छातामा मत संकेत गरेको प्रष्ट देखिएको छ। त्यस्तै, उपमेयरमा स्वस्तिक छाप लगाएको देखिएको छैन भने बाँकी पदमा पनि जसपाका उम्मेदवारलाई नै मतदान गरेको देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।