बैतडी : आमाको चुनावी प्रचारमा गएकी श्रीमतीलाई श्रीमानले कुटेपछि…

बैतडी : आमाको चुनावी प्रचारमा गएकी श्रीमतीलाई श्रीमानले कुटेपछि…
तस्बिर : सीमारेखा

गोकुलेश्वर । बैतडीमा आफ्नै आमाको चुनावी प्रचारमा गएकी श्रीमतीलाई उनकै श्रीमानले कुटेका छन्।

दशरथचन्द नगरपालिका–८ मा म्यादी प्रहरीसमेत रहेका श्रीमानले आफ्नै श्रीमतीलाई कुटेका हुन्। वडा सदस्यमा उठेकी गाउँले आमाको प्रचारमा गएको भन्दै म्यादी प्रहरी जय महरले श्रीमतीलाई मरणासन्न हुने गरी कुटेका हुन्।

श्रीमानको कुटाईबाट घाईते भएकी २७ वर्षिया धना महरलाई यतिबेला जिल्ला अस्पताल बैतडीमा भर्ना गरिएको छ। ‘कपाल लुछेर टाउको हल्लाउनै नसक्ने भएको छ,’ अस्पतालमा उपचार गराइरहेकी उनले भनिन्, ‘शुक्रबार मदिरा खाएर कुटपिट गरी भित्र पस्नै दिएन, गाउँलेको सहयोगपछि बल्ल भित्र पसेर भोकै सुते।’

बिहान फेरि कुटेर घाइते बनाएपछि गाउँलेले उनको उद्धार गरेका थिए। शुक्रबार साँझ एमालेबाट दलित महिला सदस्यको उम्मेदवार सीमा महरसँगै प्रचारमा हिडेकी धनालाई घरमा पुग्ने बित्तिकै कुटपिट गरिएको स्थानीयले बताएका छन्।

यसअघि पनि तीन चोटी कुटपिट गर्दा प्रहरीमा निवेदन दिएको र प्रहरीले सम्झाइ बुझाई गरेर घर पठाएको घाइतेले बताइन्।

उनले फेरि आफू घर फर्किए कुटेर मार्ने भन्दै श्रीमानमाथि कारवाहीको माग गरेकी छन्। उनका दुई छोरीसमेत रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *