दार्चुलामा निर्वाचन सुरक्षाका लागि जिल्लाभर ३ सयबढी सशस्त्र प्रहरी

दार्चुलामा निर्वाचन सुरक्षाका लागि जिल्लाभर ३ सयबढी सशस्त्र प्रहरी

दार्चुला । यहि वैशाख ३० गते शुक्रबारका दिन हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जिल्लाभरी ३ सय ६० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ। निर्वाचन अधिकृतको कार्यालय सुरक्षा, मतदानस्थल, मतगणनास्थल र मतदान केन्द्रको सुरक्षाका लागि जिल्लाभरी सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन बिष्टले जानकारी दिए।

निर्वाचन अधिकृतको कार्यालय सुरक्षाका लागि यसअघि नै टोली परिचालन भएकोमा बाँकी सशस्त्र प्रहरीको टोली आजदेखि जिल्लाका सबै स्थानीय तहका लागि परिचालन भएको उनले बताए। निर्वाचन सुरक्षाका लागि प्रत्येक गाउँपालिकामा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा २३ जना तथा नगरपालिकामा २८ जनाको टोली परिचालन गरिएको उनले जानकारी दिए।

मतदानको दिन सशस्त्र प्रहरी बलको टोलीले दोस्रो घेरामा बसेर सुरक्षा दिने जनाइएको छ। राष्ट्रिय सुरक्षा नीति अनुसार सशस्त्र प्रहरीलाई निर्वाचनमा दोस्रो घेरामा परिचालन गर्ने योजना बनाएको छ। यसैबीच निर्वाचनको सुरक्षाकै लागि दार्चुलाबाट बैतडी र डडेल्धुरा जिल्लामा समेत सशस्त्र प्रहरी परिचालन भएका छन्। बैतडीमा ५३ जना तथा डडेल्धुरामा ९ जना सशस्त्र प्रहरी निर्वाचनको सुरक्षाका लागि खटिएको गणपति विष्टले बताए। एक निर्वाचन अधिकृतको कार्यालय सुरक्षामा बरिष्ठ हवलदारको कमाण्डमा ४ जनाको टोली परिचालन गरिएको उनले बताए।

यस्तै जिल्ला सुरक्षा समितिले संवेदनशिल क्षेत्रको रुपमा पहिचान गरेका मतदानस्थलहरुमा सशस्त्र प्रहरीले निर्वाचन अविधिभर अस्थाई बेस क्याम्प स्थापना गरी सुरक्षा दिने बताइएको छ। सुरक्षा समितिले पहिचान गरेको संवेदनशिल स्थानहरुमा आवश्यक मात्रामा अन्य सुरक्षाकर्मीका साथै सशस्त्र प्रहरी पनि खटिएको जनाइएको छ।

सुरक्षाका लागि मोबाइल स्ट्राइकिङ टोलीसमेत तयारी अवस्थामा रहेको गणपति बिष्टले बताए। जिल्ला सुरक्षा समितिले जिल्लाका ११ वटा मतदान स्थलहरुलाई संवेदनशिलमा पहिचान गरेको छ भने ८८ वटा स्थलहरु सामान्यमा राखेको छ। जिल्लामा १ सय १० वटा मतदानस्थल तथा १ सय ३९ वटा मतदान केन्द्र रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।