दार्चुलामा ‘गुड’को माग बढ्यो, उखु खेती बढेन

दार्चुलामा ‘गुड’को माग बढ्यो, उखु खेती बढेन
दार्चुलाको लेकम गाउँपालिका—६ उचाकोटमा परम्परागत कोलुमा उखु पेल्दै स्थानीय्

गोकुलेश्वर । जिल्लाका विभिन्न ठाउँमा उखु खेती गरिँदै आए पनि व्यावसायिक उत्पादन हुन सकेको छैन। यहाँका किसानले उखु पेलेर परम्परागत रूपमा गुड (सख्खर) उत्पादन गर्दै आएका छन्। व्यावसायिक रूपमा उखु खेती नहुँदा भारतबाट बर्सेनि ठूलो परिमाणमा गुड आयात हुँदै आएको छ। थोरै बारीमा उखु उत्पादन गर्दै आए पनि व्यावसायिक बन्न नसकिएको लेकम गाउँपालिका–६ का गोकर्णदेव मिश्रले बताए। उखु खेती यहाँ धेरै पहिलेदेखि गरिँदै आएको छ। स्थानीयस्तरमै गुड बनाएर बिक्री गरिन्छ। तर, मिहिनेतअनुसारको आम्दानी नहुँदा व्यावसायिक उखु खेती गर्न अप्ठ्यारो भएको किसान बताउँछन्।

‘केही ठाउँमा उखु उत्पादन राम्रो हुन्छ, व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनौं,’ लेकमका किसान मिश्रले भने, ‘यसको माग धेरै छ। उत्पादन बढाउन सकिएन।’ पाखो र घमाइलो भू–भागमा उखुको उत्पादन राम्रो हुने भए पनि पानीको समस्याका कारण उत्पादन सोचेअनुसार नहुने उनको भनाइ छ। सिँचाइ सुविधा नभएकाले यहाँका किसान सुरुदेखि उखु उत्पादन गर्दै आएको भए पनि थोरै जग्गामा मात्रै उखु लगाउँदै आएका छन्।

जिल्लाका रिठाचौपाता, बोहरीगाउँ, भगवती, हुनैनाथ, मालिकार्जुन, कुणी, उचाकोट, देथला, रानिशिखर, लटिनाथ, शेरी, धुलिगडा, डाडाकोट, खरकडालगायत क्षेत्रमा उखु उत्पादन राम्रो हुने गर्छ। त्यसबाहेक जिल्लाका अन्य ठाउँमा पनि उखु खेती हुँदै आएको छ। मालिकार्जुन—३ का रामसिंह धामीले भने, ‘अहिले मौसममा आएको परिवर्तनले चाहिने समयमा पानी नपर्ने र सिँचाइको व्यवस्था नहुँदा उखु उपादन कम घट्दै जान थालेको छ। त्यसले कमै मात्रामा खेतमा उखु लगाउने गर्छन्।’ सिँचाइको व्यवस्था भए मालिकार्जुनमा उखु राम्रो फल्ने धामीले बताए। व्यावसायिक उत्पादनमा लैजान सके उखु पेलेर गुड उत्पादन गरी स्थानीयको आम्दानीको स्रोत बन्ने उनको भनाइ छ।

नगदे बालीमा पर्ने उखु खेती तराईमा व्यावसायिक तवरले खेती गरिन्छ। पहाडमा अहिले पनि परम्परागत रूपमा खेती गरिन्छ। यहाँ उखु पेलेर गुड बनाउने तरिका प्राचीन मौलिकताको छ। यहाँ विद्युतीय मसिनहरूको प्रयोग नगरी उखु पेल्न कसैले गोरुको प्रयोग गर्दछन्, भने कसैले हातैले कोलु (उखु पेल्ने कोलु) मा घुमाउँछन्। कोलुमा उखु पेलेर निकालेको रसलाई ४/५ घण्टा आगोमा पकाएर गुड बनाइने शैल्यशिखर नगरपालिका—२ देथलाका विक्रमबहादुर पालले बताए। अहिले गाउँका २/३ परिवारले मात्र अढाई सय किलोग्रामसम्म गुड वर्षमा बेच्ने गर्छन्। अन्य परिवारले घरका लागि मात्र गुड बनाउने र बिक्री नगर्ने उनको भनाइ छ।

लेकम, मालिकार्जुन, तथा शैल्यशिखर नगरपालिकातिर उखु काटेर पेल्ने काम भइरहेको छ। जिल्लाको अन्य ठाउँमा पनि उखु खेती हुन्छ। लेकम, शैल्यशिखर र मालिकार्जुनमा बढी हुने कृषि ज्ञान केन्द्रले जनाएको छ। पहाडमा अहिले पनि परम्परागत विधिको रूपमा उखु खेती गरिँदै आएको छ। जिल्लाको मालिकार्जुन र लेकम गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा चालू आर्थिक वर्षबाट उखु प्रवर्द्धन गर्न लागिएको कृषि ज्ञान केन्द्र प्रमुख प्रकाशकुमार पन्तले बताए। यसका लागि केन्द्रले चालु आर्थिक वर्षका लागि झन्डै ८ लाख बजेट विनियोजन गरिएको जनाएको छ। पन्तले भने, ‘दार्चुलेली गुडलाई सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पुर्‍याउने उद्देश्यले चालु आर्थिक वर्षबाट उखु प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिन लागेको हो। जिल्लामा उखुबाट उत्पादन हुने गुड प्रतिकिलो २ सयदेखि २५० सम्म सजिलै बिक्री हुने हुँदा किसानहरूले व्यावसायिक रूपमा उत्पादन गरे आम्दानीको राम्रो स्रोत हुन सक्ने ज्ञान केन्द्र प्रमुख पन्तले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।