विक्रम संवत्को मौलिकता

विक्रम संवत्को मौलिकता

नेपालको राष्ट्रिय संवत् विक्रम संवत् हो। नयाँ वर्षलाई संवत्सर पनि भनिन्छ। यसरी सौर्यमानक गणनाले वैशाख १ गते नेपालको मौलिक तथा औपचारिक नयाँ वर्ष हो। भारतमा पनि यो संवत् चलनचल्तीमा छ। विश्वका अन्य कतिपय देशमा पनि यो संवत्मा आधारित भई वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाइन्छ।

वैदिक विधिविधान तथा सूर्यको गति गणनाअनुसार निर्धारित सौर्य पात्रोमा आधारित विक्रम संवत् विश्वमा प्रचलित धेरै संवत्हरूभन्दा जेठो अर्थात् पुरानो छ। यसरी सौर्य गणनानुसार एक संवत्सरमा ३ सय ६५ दिनहरू हुन्छन्। यसअनुसार सूर्य मेष संक्रान्तिबाट आरम्भ भई पुनः सोही राशिमा पुग्ने बेलासम्मको अर्थात् सम्पूर्ण ऋतुको पूरै एक चक्रलाई संवत्सर भनिन्छ। यसरी चन्द्रमानको हिसाबले समेत चैत्र शुक्ल प्रतिपदालाई संवत्सर प्रारम्भ हुने दिन मानिन्छ। यसैले प्रत्येक संवत्सर प्रारम्भ वैशाख १ गतेदेखि हुने र यस दिनलाई नव वर्ष शुभारम्भको दिन एवं राष्ट्रिय पर्वको रूपमा मनाइने गरिन्छ। अतः राजा विक्रमआदित्यले थालनी गरेको यो पात्रो अंग्रेजी क्यालेन्डरभन्दा ५७ वर्ष अघि छ। यसको मतलव जिसस क्राइस्टको जन्मभन्दा ५७ वर्ष अगाडि नै विक्रम आदित्यले आफ्नो पात्रो प्रयोगमा ल्याइसकेका थिए। हामीकहाँ प्रचलनमा रहेको नेपाल संवत्को भने ११४२÷४३ वर्षपहिले शंखधर साख्वाले प्रचलनमा ल्याएका हुन्।

त्यसबाहेक पनि विश्वका थुप्रै मुलुकमा आफ्नै रीति, संस्कृति र परम्पराअनुसारका क्यालेन्डर प्रयोगमा रहेका छन्। राजा विक्रमादित्यले लागू गरेको ५०औं नल नाम संवत्सर मान्नेहरूले आउँदो वैशाख १ गतेदेखिदेखि आफ्नो घरघरमा झुन्ड्याएर राखेको पात्रोलाई झिकी नयाँ वर्षको पात्रोलाई राख्छन्। मूलतः वि.सं. २०७८ साल हामी बीचबाट सुखदुःखका विभिन्न घटनाहरू घटाएर हामीबाट सधैंको लागि बिदा भएको छ। हामी झन्डै तीन करोड नेपालीमध्ये धेरैले २०७८ लाई कालो वर्षको रूपमा बिदा गर्‍र्यौं भने कत्तिले उक्त वर्षलाई आफ्नो जीवनमा कहिल्यै नमेटिने विषाद भरेर गएको पनि महसुस गरे होलान्।

सेकेन्ड, मिनेट, घण्टा, दिन, रात, बार आदि गरी नै समय उपलब्धिलाई नै नयाँ मानिन्छ। जसमा १५ तिथिहरूबाट एक पक्ष भयो र यस्ता दुई पक्षबाट एक महिना हुन्छ। यस्ता दुई महिनाको एक ऋतु हुन्छ। यसरी यस्ता तीन ऋतुको ६ महिना वा एक अयन हुन्छ। जसमा दुई अयन अर्थात् ६ ऋतुको १२ महिना वा एक संवत्सर हुन्छ। यस्ता ६० संवत्सरको ६० नै वर्ष हुन्छ। फलतः ज्योतिष शास्त्रअनुसार हिन्दू संस्कृतिमा ६० संवत्सर रहेका छन्। यिनीहरूको नाम हरेक वर्ष बदलिने गर्छ र ६० वर्ष पूरा भएपछि पुनः सोही नाम दोहोरिने गर्छ। जुन प्रभव, विभव, शुक्ल, प्रमोद, प्रजापति, अंगिरा, श्रीमुख, भाव, युवा, धाता, ईश्वर, बहुधान्य, प्रमाथी, विक्रम, वृष, चित्रभान, स्वभानु, तारण, पार्थिव, व्यय, सवजीत, सर्वधारी, विरोधी, विकृति, खर, नन्दन, विजय, जय, मन्थन, दुर्भुव, हेमलम्ब विलम्बी, विकारी, शार्वरी, प्लव, शुभकृत्, शोभन, क्रोधी, विश्रांवसु, पराभव, प्लवङ, किलक, सौम्य, साधारण, विरोधकृ, परिधावि, प्रमादी, आनन्द, राक्षस, नल, पिंगल, कालयुक्त, सिद्धार्थ, रौद्र, दुर्मति, दुन्दुभि, रुधिरोद्, रक्ताक्षी र क्रोधन र क्षय रहेको छ।

हाम्रो देशमा सर्वप्रथम राजा विक्रमादित्य प्रथमको शासन कालदेखि नै नव वर्ष आरम्भ भएको ऐतिहासिक तथा धार्मिक ग्रन्थहरूमा उल्लेख छ। यसकारणले गर्दा वैशाख १ देखि सुरुवात हुने नवआगन्तुक समयलाई नेपालीहरूले हर्षका साथ उल्लासमय वातावरण साथ राष्ट्रिय चाडको रूपमा मनाउँंछन्। यस दिनमा सरकारीस्तरका तथा संस्थानतर्फ सबै निकायहरूले सार्वजनिक बिदा पाउने व्यवस्था छ। यसै दिनमा काठमाडौ जिल्लाको टोेखास्थित सपना तीर्थमा मेला भर्ने चलन बढी रोचक तथा आकर्षित रहेको छ। यो मेला भर्ने श्रद्धालु भक्तजनहरूलाई मरेपछि स्वर्गमा राम्रो स्थान प्राप्त हुन्छ भन्ने किंवदन्तीले गर्दा तीर्थ स्नान गर्ने प्रचलन यथावत् नै छ। त्यस्तैगरी भक्तपुर जिल्लामा विस्केटको लिंगो अघिल्लो दिन उभ्याउने वैशाख १ गते ढाल्ने कार्य हुन्छ। जसको धार्मिकशास्त्रमा अलौकिक महत्त्वपूर्ण स्थान रहेको छ। हाम्रा मरेर गएका व्यक्तिहरूलाई बिस्केटको लिंगो हेरेको थिइस् भनेर स्वर्गमा प्रश्न गर्ने भएको हँुदा यस दिन काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न क्षेत्रबाट असंख्य जनसमुदायको घुइँचो लाग्दछ। यस दिन बिहानैदेखि विभिन्न देवी देवताका मठ मन्दिरहरूमा स्नान गरी दर्शन गर्ने चलन नेपाललगायत भारतका हिन्दू धर्मालम्बीहरूमा समेत पाइन्छ।

नयाँ वर्ष सधैं वसन्त ऋतुको आगमन साथै आउने हुँदा प्रकृतिमा नयाँ नौलो आभाष आएको अनुभव हुनु स्वाभाविकै हो। यसै बेलामा उजाड तथा पतझर बोट बिरुवाहरूमा हरियालीले छाएको हँुदा साह्रै राम्रो दृश्यहरूको अवलोकल गर्न सकिन्छ। यसै समय काफलगेढी पाक्ने समय र कोइलीको मधुर स्वर सँगसँगै काफल पाक्यो भन्ने चराको स्वर वनजंगलमा घन्किरहेको हुन्छ। यतिबेला नवविवाहित पतिपत्नीले वनजंगल विहार गर्ने हो भने स्वर्ग नै भएको भान पर्न जान्छ। यसरी प्रकृतिले पनि आफ्नो स्वरूप बदल्ने यसै अवसर परेको हुँदा के बूढा, के युवक सबै नयाँ वर्षलाई भावी भविष्यको रूपमा हेर्छन् ? यसै पावन अवसरमा आफ्ना इष्ट मित्र, नाता कुटुम्ब, साथीसंगिनी आदिलाई भेट गर्ने मिठो मसिनो खाने र ख्याउने भएको हँुदा यस पर्वको महत्त्व ज्यादै लोकप्रियता हुन गएको छ। सबैले नयाँ वर्षको पात्रो किनेर आ–आफ्नो राशिफल के कस्तो छ भन्ने उत्सुकता रहेको हुन्छ। विगत वर्ष जे जस्ता घटनाहरू घटे तिनीहरूलाई चटक्क बिर्सी नयाँ वर्षमा आफ्नो कार्य शैलीलाई अगाडि बढाउन तँछाडमछाडको भावना अभिपे्ररित भएको हुन्छ। हिजोका कार्यलाई समष्टि रूपमा मूल्यांकन गरी भावी कार्यक्रमहरूको थालनी गर्ने जर्मको गरिएको हुन्छ।

अन्त्यमा भन्नुपर्दा विगतमा जे जस्ता घटनाहरू भए पनि हामी मानव जाति जहिले पनि आशा, विश्वास र भरोसा लिएर बाँचेका हुन्छौं। हाम्रो जीवन आधार सुखद भविष्यको आशा नै हो। यही सुखद भविष्यको आशाले अभिव्यक्तिको माध्यम दिने गर्छ र हामीलाई कुनै पनि नव वर्षले नयाँ जोस, जाँगर र उमंग बोकेर आएको हुन्छ। त्यसैले नव वर्ष २०७९ साल सुखद भविष्य लिएर उदाइरहेको छ भन्ने आशाका साथ आजदेखि नयाँ वर्षमा प्रवेश गरिरहेका छौं। यो आशालाई संकल्पमा बदलेर सुखद भविष्यको वास्तविकता परिणत गर्ने र असल मित्रहरू हाम्रै हातहरू हुन्। नयाँ वर्ष २०७९ को सुखद उपलक्ष्यमा भाग्य र भविष्य सफल तुल्याउन हामी स्वयं नै सक्रिय, सबल र समुन्नत बन्न सकौं। वि.स.२०७९ सालले सुख शान्तिको वातावरण नेपाली जनता समक्ष कायम गर्न सकोस्।

विश्वानाथ खरेलको विचार अन्नपूर्ण पोष्टबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *