ढुवानी ठप्प पारेर व्यवसायी आन्दोलित, देशभर इन्धन अभाव

ढुवानी ठप्प पारेर व्यवसायी आन्दोलित, देशभर इन्धन अभाव

काठमाडौं । पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेर आन्दोलन सुरु गरेसँगै देशभर इन्धन अभावन हुन थालेको छ। ढुवानी रोक्दै निगमको डिपोबाटसमेत इन्धन उठाउन छाडेर व्यवसायीले अनिश्चितकालीन आन्दोलन सुरु गरेसँगै प्रदेश १ सहित देशभरका अधिकांश पम्पहरु बन्द भएका छन् । प्रदेश १ मा बन्द भएका पम्पले बिहीबारदेखि नै इन्धनको बिक्रीवितरण गर्न छाडेका थिए । खुला रहेका केही पेट्रोल पम्पहरुले मौज्दात रहेको इन्धन बिक्री गरिरहे पनि उपभोक्ताले आवश्यकता अनुसार पाउन सकिरहेका छैनन् ।

खुला रहेका पम्पमा इन्धन भर्न रातभर सर्वसाधारणको लाम लागेको थियो । सवारीसाधन र विभिन्न भाँडावर्तनसहित पम्पमा लाइन लागे पनि सर्वसाधारणले पर्याप्त इन्धन पाउन सकेनन् । विराटनगरका स्थानीय बालकृष्ण दाहालले अतिआवश्यकीय वस्तुभित्र पर्ने इन्धन नपाएर उपभोक्ता समस्यामा परेको बताए । ‘घण्टौंसम्म लाइनमा बस्दा पनि पेट्रोल पाउन सकिएन्,’ उनले भने,’सर्वसाधारणले धेरै दुःख पाउन थालेकाले तत्काल आपूर्ति सहज बनाइनु पर्छ ।’

पेट्रोलियम पदार्थ (इन्धन)मा मूल्यवृद्धि गरिए पनि नेपाल आयल निगमले कमिसन रकम तथा ढुवानी भाडा नबढाएको भनेर व्यवसायीले आन्दोलन सुरु गरेका हुन् । कमिसनको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने कोसी पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष दुर्गाबहादुर बस्नेतले बताए । ‘व्यसायीले पाउनुपर्ने कमिसनलाई वास्ता नगरिकन बिना समन्वय सरकारले इन्धनको मूल्यवृद्धि गर्‍यो,’ उनले भने, ‘एकपक्षीय ढंगबाट अघि बढ्ने काम भएकाले ढुवानी ठप्प पार्ने र निगमको डिपोबाट इन्धन नउठाउने घोषणा गरेर आन्दोलन थालिएको हो ।’

पेट्रोलको मूल्य बढाउँदा पनि व्यवसायीले पाउने कमिसनको रकम भने नबढाइएको बस्नेतको भनाइ छ । कमिसन नबढाइएका कारण ढुवानी ठप्प पार्नुपर्ने अवस्था आएको दाबी उनले गरेका छन् । पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष ध्रुव सिग्देलले ढुवानी भाडा नबढाएका कारण आन्दोलन गरिएको बताए । ‘सार्वजनिक सवारीसाधनको भाडा बढाइएको छ,’उनले भने, ‘तर इन्धन ढुवानीमा भने पुरानै भाडा कायम छ ।’सिग्देलले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

विराटनगरस्थित निगमको प्रदेश १ कार्यालयले उपलब्ध गराएको सीमित इन्धनले शुक्रबार बिहानसम्म धानेको उनको भनाइ छ । ढुवानी नै ठप्प पारिएका कारण प्रदेशमा इन्धन अभाव हुन थालेको सिग्देलको भनाइ छ । ‘इन्धनको मूल्य बढाइँदा सार्वजनिक सवारीसाधनदेखि लिएर सबैतिरको मूल्य समायोजन गरिएको छ,’उनले भने, ‘व्यवसायीले भने पुरानै दररेटमा ढुवानी गर्नुपर्ने अवस्था छ ।’

प्रदेश १ का लागि भारतको सिलिगुडीबाट पेट्रोल र अमलेखगञ्ज डिपोबाट डिजेल ढुवानी हुँदै आएको छ । निगमको विराटनगरस्थित प्रदेश कार्यालयका प्रवक्ता दिवस विष्टका अनुसार आन्दोलनका कारण पेट्रोलियम पदार्थको ढुवानी ठप्प हुँदा उपभोक्ता मर्कामा परेका छन् । ‘व्यवसायीले बिहीबारदेखि नै ढुवानीका लागि ट्यांकर सिलिगुडी पठाउन छाडे । शुक्रबारदेखि निगमको डिपोबाट पनि इन्धन उठाएनन्,’उनले भने ।

विष्टका अनुसार निगमको डिपोमा डिजेल एक सातालाई पुग्ने गरी स्टक छ । डिजेलको माग दैनिक १ हजार २ सयदेखि १ हजार ६ सय किलोलिटरसम्म छ । पेट्रोलको स्टक भने थोरै छ । पेट्रोलको माग सामान्य अवस्थामा दैनिक ५ सयदेखि ८ सय किलोलिटरसम्म रहने जानकारी उनले दिए । ‘निगमसँग अब २ सय किलोलिटरजति पेट्रोल स्टक छ । मागको तुलनामा नगन्य मात्रामा स्टक रहेकाले प्रदेशमा पूरै अभाव खड्कियो,’ उनले भने ।

राज्यलाई असर परेका बेला इन्धनको ढुवानी ठप्प पारेर झन् असहयोग गर्ने काम व्यवसायीबाट भएको निगमको बुझाइ छ । ‘राज्यलाई असहयोग गर्ने र जनतालाई दुःख दिने काम व्यवसायीबाट भएको छ,’ निगम स्रोतले भन्यो, ‘रातभर लाइनमा बस्दा पनि उपभोक्ताले इन्धन पाउन सकिरहेका छैनन् ।’ निगमका अनुसार व्यवसायीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नै लिन अस्वीकार गरेका छन् ।

प्रदेश १ भित्र इन्धन ढुवानीका लागि ४ सय १२ वटा ट्यांकरको प्रयोग गरिँदै आएको थियो । प्रदेशमा हाल २ सय ७० वटा पम्पहरु सञ्चालनमा छन् । प्रवक्ता विष्टका अनुसार अहिले प्रतिलिटर पेट्रोलको मूल्य १ सय ५३ रूपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ३६ रूपैयाँ ५० पैसा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंलाई यो समाग्री कपी गर्न बन्द गरिएको छ। यसका लागि चौलानी खबरसँग अनुमति माग्नुहोस्।